सरकारको ‘हनिमुन पिरियड’ सकियो, अब काँग्रेसले संसद्मा सशक्त भूमिका खेल्छ: अभिषेकप्रताप साह

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका नेता अभिषेकप्रताप साहले सरकारको सुरुवाती १०० दिने ‘हनिमुन पिरियड’ सकिन लागेको उल्लेख गर्दै अबका दिनमा संसद्मा प्रमुख प्रतिपक्षी दलको भूमिका थप प्रभावकारी र सशक्त हुने बताएका छन् ।

शनिवार सिंहदरबारमा सम्पन्न नेपाली काँग्रेस संसदीय दल कार्यसमितिको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता साहले उक्त धारणा राखेका हुन् ।

उनले संसद प्रतिपक्षको थलो भएको स्मरण गराउँदै जनताका सरोकारका विषयमा काँग्रेसले निरन्तर आवाज उठाइरहने स्पष्ट पारे । सरकारको समीक्षा गर्दै उनले वर्तमान सरकार सामाजिक सञ्जालमा मात्र केन्द्रित र लोकप्रियतावादी भएको आरोप लगाए । सरकारले जनतालाई राम्रो सन्देश दिन खोजे पनि त्यो पर्याप्त नभएको उनको तर्क थियो । विशेष गरी बजेट र कर नीतिको आलोचना गरे ।

सरकारको कार्यशैलीप्रति टिप्पणी गर्दै नेता साहले भने ‘हामीले सरकारलाई आफ्नो एजेन्डाअनुसार काम अगाडि बढाउन १०० दिनको समय दिएका थियौँ । यो अवधिमा हामीले संयमता अपनायौँ, तर अबका दिनमा हाम्रा हरेक सांसदले संसद्मा जनताका मुद्दालाई अत्यन्तै प्रभावकारी ढंगले अगाडि बढाउनेछन् । साधारण जनताले सरकारबाट राहतको अपेक्षा गरेका थिए, तर सरकारले करमाथि कर थपेर जनतालाई मारमा पारेको छ । सरकारले लिएको ठुलो लक्ष्य र करको बढ्दो दायराले भोलिका दिनमा प्रणालीमै गम्भीर असर पर्न सक्छ ।’

नेता साहले जनताको अपेक्षाअनुसार सरकारले काम गर्न नसकेको दाबी गर्दै अब प्रमुख प्रतिपक्षी दलको हैसियतमा नेपाली काँग्रेसले सरकारका कामकारबाहीको सूक्ष्म निगरानी गर्ने र सदनमा सशक्त हस्तक्षेप गर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 7 =