धनबहादुरको परिवारलाई दाताको सहयोगमा नयाँ घर

खोटाङ । जन्तेढुङ्गा गाउँपालिका–४ डम्बर्खुशिवालयमा घर जलेपछि विस्थापित भएका परिवारका लागि नयाँ घर निर्माण गरिएको छ ।
गत चैत १८ गते विद्युत् ‘सर्ट’ हुँदा घर जलेपछि विस्थापित भएका डम्बर्खुशिवालयस्थित चण्डीथानका धनबहादुर नेपालीको परिवारका लागि नयाँ घर निर्माण गरिएको हो ।
डम्बर्खुशिवालयकी स्थानीय अभियन्ता कमला खड्काको पहलमा स्वदेश तथा विदेशमा रहेका दाताबाट जुटेको सहयोगमा धनबहादुरको परिवारका लागि नयाँ घर निर्माण गरिएको वडाध्यक्ष विदुरमान राईले जानकारी दिएका छन् ।
आगलागीमा घर तथा घरमा भएका सम्पूर्ण सामग्री जलेर नष्ट भएपछि उनकी श्रीमती, छोराबुहारी, छोरी र नातिसहित छ जनाको परिवार विस्थापित भएका थिए ।
आगलागीमा घरसँगै अन्नपात, लत्ताकपडा, भाँडाकुँडा, कागजातलगायत सम्पूर्ण सामग्री जलेर नष्ट भएपछि पुनः स्थापनाका लागि सामाजिक सञ्जालमार्फत आर्थिक सहयोग सङ्कलन अभियान थालिएको थियो ।
स्थानीय अभियन्ता खड्काले आगलागी भएकै दिनदेखि सामाजिक सञ्जाल ‘फेसबुक’मा धनबहादुरको घर पुनः निर्माणका लागि सहयोग अभियान थालेका हुन् ।
सामाजिक सञ्जाल फेसबुकबाट सहयोगको आह्वान गरिएपछि धनबहादुरको घर पुनः निर्माणका लागि नगद, दाल, चामल र तेलसहित रु तीन लाख पाँच हजार १५७ सहयोग जुटेको अभियन्ता खड्काले जानकारी दिएका छन् ।
आर्थिक तथा खाद्यान्न सहयोग जुटेपछि धनबहादुरका लागि तीनतिर बरन्डा भएको जस्तापाताको छानासहितको दुईतले नयाँ घर निर्माण गरिएको जनाइएको छ ।
आगलागीमा घरसहित सम्पूर्ण सामग्री गुमाएर विस्थापित बनेका धनबहादुरको परिवार दाताको सहयोगमा निर्माण गरिएको नयाँ घरमा सरिसकेका छन् ।
आगलागी भएको तीन महिनामै दाताको सहयोगमा जस्तापातासहितको नयाँ घर पाएपछि उहाँका परिवार हर्षित भएका छन् ।
घरसँगै जलेको छोरी सुमिता र आफ्नो नागरिकताको प्रतिलिपिबाहेक अन्य डकुमेन्ट (प्रमाणपत्र) बनाउन बाँकी रहेको आगलागी पीडित धनबहादुरले जानकारी दिएका छन् ।
छोरा सुनिल र छोरी सुमिताको आगलागीमा जलेको माध्यमिक शिक्षा परीक्षा (एसइई) सम्बन्धी प्रमाणपत्र र जग्गाधनी लालपुर्जा निकाल्न बाँकी रहेको जनाइएको छ ।









