अफगानिस्तानमा चरम गरिबीका कारण बालबालिका विद्यालय छाडेर श्रम गर्न बाध्य

एजेन्सी । जुन १२ मा विश्व बालश्रम विरुद्धको दिवस मनाइरहँदा अफगानिस्तानमा भने लाखौँ बालबालिकाहरू चरम गरिबीका कारण विद्यालय छोडेर श्रम बजारमा होमिन बाध्य भएका छन् ।

देशव्यापी रूपमा व्याप्त आर्थिक संकटले परिवारहरू विस्थापित भएसँगै बालबालिकाहरू इँटाभट्टा, बजार, निर्माण क्षेत्र र विभिन्न कार्यशालाहरूमा कठिन श्रम गरिरहेका छन् ।

दश वर्षका सुलेमानको कथा पनि अफगानिस्तानका लाखौँ बालबालिकाको जस्तै छ । सफा लुगा लगाएर विद्यालय जाने सपना देख्ने उनी प्रत्येक बिहान इँटाभट्टातर्फ लाग्छन् ।

आफ्नो अवस्थाबारे सुलेमान भन्छन्, ‘म दैनिक इँटा मिलाउने काम गर्छु र मेरा बिरामी बुबालाई श्रममा सघाउँछु । मलाई विद्यालय गएर पढ्ने ठूलो इच्छा छ, तर परिवारको अवस्थाले गर्दा काम गर्न बाध्य छु ।’

अफगानिस्तानमा दशकौँदेखि जारी युद्ध र अन्तर्राष्ट्रिय तथा अमेरिकी प्रतिवन्धका कारण देशको अर्थतन्त्र धराशायी बनेको छ । चरम गरिबी र बेरोजगारीले उग्र रूप लिँदा लाखौँ मानिसहरू घर छोड्न र शिक्षा त्याग्न बाध्य भएका छन् ।

परिवारको गुजारा चलाउनकै लागि बालबालिकाहरू सडकमा सामान बेच्नेदेखि इँटाभट्टामा पसिना बगाउनेसम्मका जोखिमपूर्ण काममा संलग्न छन् ।

यो निराशाजनक वास्तविकताका बीच पनि कतिपय अभिभावकहरूमा आफ्ना सन्तानले कुनै दिन श्रमको साटो शिक्षा रोज्न पाउने झिनो आशा बाँकी नै छ । एक बालकका पिता जाहिदुल्लाह भन्छन्, ‘मेरो सपना छ कि मेरा छोराछोरी पढेर डाक्टर वा इन्जिनियर बनून् र देशको सेवा गरुन् ।’

यसैबीच, तालिवान प्रशासनको श्रम तथा सामाजिक मामिला मन्त्रालयले जोखिममा रहेका र अनाथ बालबालिकाहरूका लागि देशका ३४ वटै प्रान्तमा तालिम केन्द्रहरू स्थापना गरिएको जनाएको छ ।

मन्त्रालयका प्रवक्ता समीउल्लाह इब्राहिमीका अनुसार यी केन्द्रहरूमा बालबालिकाको शिक्षाका साथै स्वास्थ्य, खाना, लत्ताकपडा र आवासको समेत व्यवस्था गरिएको छ ।

इब्राहिमीले गत एक वर्षमा मन्त्रालयले करिब १३ हजार ५०० अनाथ र बेसहारा बालबालिकासँग सम्बन्धित समस्याहरूको सम्बोधन गरेको दाबी गरे ।

यद्यपि, सरकारी प्रयासका बाबजुद अझै पनि ठूलो संख्यामा बालबालिकाहरू यस्तो सहयोगबाट वञ्चित छन् र उनीहरूको जीवन कठिन श्रममै बितिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − 16 =