नेपाली सेनालाई बुद्ध एयरद्वारा सेवा निवृत्त विमानको फ्युजलेज हस्तान्तरण

काठमाडौँ। बुद्ध एयरले उडान सेवाबाट अवकाश प्राप्त ATR-72 (MSN-535) विमानको फ्युजलेज नेपाली सेनालाई हस्तान्तरण गरेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित बुद्ध एयरको ह्याङ्गरमा जेठ २५ गते आयोजित एक कार्यक्रममा बुद्ध एयरका कार्यकारी अध्यक्ष वीरेन्द्र बहादुर बस्नेत ले उक्त फ्युजलेज नेपाली सेनाका युद्ध कार्य प्रमुख अनुप जङ्ग थापा लाई हस्तान्तरण गरेका हुन्।

उक्त ATR-72 विमानले करिब ७० हजार उडान चक्र (साइकल) पूरा गरेपछि केही महिनाअघि बुद्ध एयरले त्यसलाई नियमित उडान सेवाबाट अवकाश दिएको थियो।

हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै बस्नेतले नेपाली सेनाले विपद् व्यवस्थापन, पूर्वाधार निर्माण, शान्ति–सुरक्षा कायम राख्ने कार्यदेखि राष्ट्रिय हितका विविध जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्दै आएको उल्लेख गरे। यस्तो प्रतिष्ठित संस्थालाई सहयोग गर्न पाउनु बुद्ध एयरका लागि गर्वको विषय भएको उनले बताए।

उनले हस्तान्तरण गरिएको विमानको फ्युजलेज विमानस्थलमा हुन सक्ने हवाई दुर्घटना, विभिन्न सुरक्षा चुनौती (थ्रेट) तथा आपत्कालीन अवस्थाको पूर्व तयारी र प्रतिकार क्षमता अभिवृद्धिका लागि उपयोगी हुने विश्वास व्यक्त गरे। उनका अनुसार नेपाली सेनाले यसलाई विमानस्थल आपत्कालीन योजना (Airport Emergency Plan–AEP) अन्तर्गत विभिन्न सतर्कता स्तर (Alert Level) का अभ्यास तथा तालिममा प्रभावकारी रूपमा प्रयोग गर्न सक्नेछ।

कार्यक्रममा बोल्दै प्रेमनाथ ठाकुर, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक, ले बुद्ध एयरद्वारा उपलब्ध गराइएको फ्युजलेजले नेपाली सेनाको पूर्वाभ्यास, सुरक्षा तयारी तथा विभिन्न प्रकारका जोखिम र चुनौती सामना गर्ने क्षमतामा महत्त्वपूर्ण योगदान पुर्‍याउने बताए। उनले नागरिक उड्डयन सुरक्षाको क्षेत्रमा बुद्ध एयरले प्राधिकरणसँग निरन्तर सहकार्य गर्दै आएको उल्लेख गर्दै यस पहललाई उदाहरणीय र प्रशंसनीय कार्यको रूपमा व्याख्या गरे।

बुद्ध एयरले हस्तान्तरण गरेको यो फ्युजलेज विमानस्थल आपत्कालीन व्यवस्थापन, उद्धार तथा सुरक्षा अभ्यासका लागि प्रयोग हुने भएकाले हवाई सुरक्षा प्रणालीलाई थप सुदृढ बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × one =