सभामुखले संसदलाई पेलेर लैजाने नीतिले सही गन्तव्यमा पुग्न सकिँदैनः सांसद शाही

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सांसद महेन्द्रबहादुर शाहीले राष्ट्रियता जस्तो संवेदनशील विषयमा प्रधानमन्त्रीको अभिव्यक्तिबारे संसदमा स्पष्ट जवाफ आउनुपर्ने बताएका छन् ।

मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै शाहीले प्रधानमन्त्रीको हालैको अभिव्यक्तिले राष्ट्रियताको विषयमा गम्भीर प्रश्न उठाएको टिप्पणी गरे । उनले उक्त विषयमा आम नागरिकले समेत चासो व्यक्त गरिरहेको भन्दै प्रधानमन्त्री स्वयं संसदमा उपस्थित भएर स्पष्टीकरण दिनु आवश्यक रहेको बताए ।

‘प्रधानमन्त्रीको अभिव्यक्ति गम्भीर विषय हो । यसमा प्रतिपक्षले अनावश्यक बखेडा झिकेको होइन,’ उनले भने, ‘जनताले यसबारे सत्यतथ्य खोजिरहेका छन् । त्यसैले प्रधानमन्त्रीले आफ्नो धारणा सार्वजनिक गर्नैपर्छ ।’

शाहीले बजेट निर्माण प्रक्रिया र भन्सार महसुलसम्बन्धी विषयमा अर्थमन्त्रीको भूमिकामाथि उठेका प्रश्नबारे पनि सरकारको ध्यानाकर्षण गराए । बजेट प्रस्तुतिका क्रममा भएका केही गतिविधिले वैदेशिक चलखेल वा मिलेमतोको आशंका पैदा गरेको उल्लेख गर्दै उनले त्यसबारे सरकारले सदनलाई स्पष्ट जानकारी दिनुपर्ने माग गरे ।

उनले सभामुखको भूमिकाबारे पनि टिप्पणी गर्दै संसद्को गरिमा कायम राख्न र राजनीतिक दलहरूबीच सहमति निर्माण गर्न आवश्यक रहेको बताए ।

‘सभामुख भनेको संसद्को गरिमा कायम राख्ने र सबै दलहरूलाई समन्वय गर्ने सर्वोच्च निकाय हो । प्रतिपक्षलाई साथमा लिएर र सबै राजनीतिक दलहरूसँग आवश्यक छलफल गरेर मात्र सदन अगाडि बढाउनु उपयुक्त हुन्छ,’ उनले भने ।

सांसद शाहीले संसदलाई एकपक्षीय ढंगले अघि बढाउने प्रयासले सकारात्मक परिणाम नदिने तर्क गर्दै संवाद र सहमतिमार्फत समाधान खोज्नुपर्नेमा जोड दिए ।

उनले विकास, सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धि सबै राजनीतिक दलहरूको साझा एजेन्डा हुनुपर्ने उल्लेख गर्दै राष्ट्रिय हितका विषयमा सबै पक्ष एकजुट हुनुपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + 14 =