प्रधानमन्त्री साह नेपाललाई अतिक्रमणकारी प्रमाणित गर्न लागिपरेका छन्: काँग्रेस

काठमाडौँ । नेपाली काँग्रेसका सांसद निश्कल राईले प्रधानमन्त्री बालेन्द्र साह आफ्नो सीमासम्बन्धी विवादित अभिव्यक्ति सच्याउनुको सट्टा नेपालले भारतको भूमि अतिक्रमण गरेको कुरा प्रमाणित गर्न लागिपरेको आरोप लगाएका छन् ।

प्रतिनिधि सभाको मङ्गलवारको बैठकमा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् ।

उनले नेपाल विश्वको नजरमा सीमा अतिक्रमणकारी देश नभएको र बन्न नसक्ने बताए । सांसद राईले प्रधानमन्त्री स्वयं सदनमा उपस्थित भएर आफ्नो अभिव्यक्तिको आलोचना गर्दै माफी माग्नुपर्ने बताए । उनले प्रधानमन्त्रीलाई आफ्नो अभिव्यक्ति सच्याउँदै नागरिकसमक्ष माफी माग्न सभामुख डोलप्रसाद अर्यालसमक्ष रुलिङको माग गरे ।

उनले भने ‘नेपालले छिमेकी देश भारतको कुनैपनि सीमा वा जमिन मिचेको छैन । नेपाल विश्वको नजरमा सीमा अतिक्रमणकारी देश होइन, बन्न सक्दैन । तर सम्माननीय प्रधानमन्त्रीज्यूले नेपालले समेत भारतको भूमि आक्रमण गरेको छ भनेर प्रमाणित गर्न लाग्नुभएको छ । सामाजिक सञ्जालमा उहाँका शुभचिन्तकहरू समेत नभएका प्रमाणहरू सिर्जना गर्दै नेपाललाई सीमा अतिक्रमणकारी देश भनेर प्रमाणित गर्न लागिपरेका छन् । यो तहको राष्ट्रघात गर्न उहाँहरूलाई किन मन लाग्यो । हामी विपक्षी दलहरूले हामी जग्गा अतिक्रमणकारी होइनौँ भनेर प्रमाणित गर्न खोजिरहेका छौँ । प्रधानमन्त्री स्वयं यस सभामा उपस्थित भएर आफ्नो अभिव्यक्तिको आलोचना गर्दै माफी माग्नुपर्छ भनेर माग गरिरहेका छौँ । यस विषयमा प्रधानमन्त्री माफी माग्नुपर्छ । यस विषयमा खुट्टा नकमाईकन सभामुखज्यूले रुलिङ गर्नुपर्छ ।’

उनले सरकार समर्थकलाई राष्ट्रघाती कदम प्रमाणित गर्न किन मन लाग्यो ? भन्दै प्रश्न समेत गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 9 =