भविष्य सिकाउने शिक्षक, आफ्नै भविष्य खोज्दै माइतीघरमा (तस्बिरहरू)

काठमाडौं । संघीय शिक्षण सिकाइ अनुदानमा कार्यरत शिक्षकहरूले सरकारले आर्थिक वर्ष २०८३/०८४ को बजेटमार्फत आफ्ना माग सम्बोधन नगरेको भन्दै आज (मंगलबार) माइतीघरमा विरोध प्रदर्शन गरेका छन् ।
उनीहरूले सम्मानजनक तलब वृद्धि, महँगी भत्ता, प्रोत्साहन भत्ता, सामाजिक सुरक्षा कोष, सेवा निरन्तरता तथा विगतमा सरकारसँग भएका सहमति कार्यान्वयनको माग गरेका छन् ।
अंग्रेजी, गणित र विज्ञान विषय अध्यापन गरिरहेका करिब ११ हजार शिक्षकले दरबन्दी मिलान, तह समायोजन वा विद्यालय मर्ज हुँदा सेवा निरन्तरता सुनिश्चित गर्नुपर्ने, उमेर हदका कारण सेवाबाट विस्थापित गर्न नहुने तथा शिक्षक सेवा आयोगको परीक्षामा अनुभवको आधारमा अंक प्रदान गर्नुपर्ने माग समेत अघि सारेका छन् ।
मागको सम्बोधन नभए पठनपाठन ठप्प पार्नेदेखि सामूहिक राजीनामासम्मका आन्दोलनका कार्यक्रम घोषणा गर्न बाध्य हुने चेतावनी शिक्षकहरूले दिएका छन् ।
साथै, यसबाट उत्पन्न हुने शैक्षिक क्षतिको सम्पूर्ण जिम्मेवारी सम्बन्धित निकायले लिनुपर्ने उनीहरूको भनाइ छ ।
तस्बिरहरुः–









