एनएमबि बैंकद्वारा नेपाल-भारत पैसा पठाउने नयाँ (क्रस-बर्डर P2P) सेवाको सुरुवात

काठमाडौँ । एनएमबि बैंक लिमिटेडले नेपाल–भारत सजिलै र तुरुन्तै पैसा पठाउन मिल्ने नयाँ ‘इन्डो–नेपाल P2P रेमिट्यान्स’ सेवा सुरु गरेको छ ।
नेपाल क्लियरिङ हाउस लिमिटेड सँगको सहकार्यमा सुरु गरिएको यस सेवाले गर्दा अब भारतबाट नेपालमा र नेपालबाट भारतमा पैसा पठाउन र पाउन पहिलेभन्दा धेरै सुरक्षित र सजिलो हुने बताइएको छ ।
बैंकका अनुसार यस नयाँ प्रविधिसँगै ग्राहकहरूले परम्परागत झन्झट र ढिलाइबाट पूर्ण मुक्ति पाउनेछन् । अब भारतबाट पैसा पठाउँदा धेरै दिन पर्खिनु पर्दैन, उताबाट पठाउने बित्तिकै एनएमबि बैंकमा रहेको तपाईँको व्यक्तिगत खातामा तुरुन्तै पैसा आइपुग्छ । पैसा मगाउनका लागि र पठाउन अब आफ्नो लामो बैंक खाता नम्बर अरूलाई सेयर गरिरहनु पर्ने झन्झट समेत हुनेछैन ।
बैंकले ग्राहकहरूको सुरक्षाका लागि एउटा सजिलो र छुट्टै भर्चुअल ठेगाना बनाइदिनेछ र यही ठेगाना मार्फत सजिलै पैसा मगाउन, पठाउन सकिनेछ ।
यो सेवालाई सबैको पहुँचमा पुर्याउन बैंकले अत्यन्तै सरल बनाएको जनाएको छ । ग्राहकहरूले आफ्नो मोबाइल बैंकिङ एप वा बैंकको वेबसाइटबाट आफैँ यो सेवा प्रयोग गर्न सक्नेछन् भने जुनसुकै शाखामा गएर कर्मचारीहरूको मद्दतबाट पनि यो सेवा सजिलै सुरु गर्न सक्नेछन् ।
घरखर्च वा व्यक्तिगत कामका लागि भारतबाट पैसा मगाउँदा आवश्यकता अनुसार रकम प्राप्त गर्न थप सहज हुनेछ । ग्राहकको मिहिनेतको कमाइ पूर्ण रूपमा सुरक्षित होस् र सही ठाउँमा पुगोस् भन्नका लागि बैंकको आन्तरिक प्रणालीले यसको निरन्तर निगरानी र सुरक्षा समेत गरिरहेको हुन्छ ।








