किमाथाङ्कामा शुक्रबारदेखि इन्टरनेट सेवा बन्द

सङ्खुवासभा । चीनसँग सीमा जोडिएको सङ्खुवासभाको भोटखोला गाउँपालिका–१ किमाथाङ्कामा शुक्रबारदेखि नेपाल टेलिकमको इन्टरनेट (फोरजी) सेवा अवरुद्ध भएको छ ।

भोटखोला–१ का वडाध्यक्ष नुर्पु च्यावाले किमाथाङ्का क्षेत्रमा नेपाल टेलिकमको फोरजी सेवा अचानक अवरुद्ध भएको जनाउँदै समस्या देखिए लगत्तै सम्बन्धित निकायलाई जानकारी गराइएको बताए । सेवा यथाशीघ्र सञ्चालनमा ल्याउन पहल भइरहेको उनको भनाइ छ ।

इन्टरनेट सेवा अवरुद्ध भएपछि स्थानीयवासी सूचना आदानप्रदान गर्न, आफन्तसँग सम्पर्क गर्न तथा विभिन्न अनलाइन सेवा लिनबाट वञ्चित भएका छन् ।

‘इन्टरनेट’ मार्फत सञ्चालन हुने सरकारी, वित्तीय तथा अन्य सेवामा यसले असर परेको भन्दै तत्काल नियमित रूपमा सेवा सञ्चालनका लागि सरोकार भएका निकायले तत्परता देखाउनुपर्ने स्थानीयले बताएका छन् ।

नेपाल–चीन सीमा क्षेत्रमा अवस्थित किमाथाङ्का व्यापारिक, रणनीतिक तथा पर्यटकीय दृष्टिले महत्त्वपूर्ण क्षेत्र मानिन्छ ।

सञ्चार सेवा अवरुद्ध हुँदा स्थानीयसँगै सीमा क्षेत्रमा आवतजावत गर्ने सर्वसाधारण, व्यवसायी तथा सेवाग्राही प्रभावित भएका छन् ।

किमाथाङ्का दुर्गम हिमाली क्षेत्रमा पर्ने भएकाले पनि प्राविधिक समस्या हुँदा समाधान गर्न समय लाग्न सक्ने स्थानीयको भनाइ छ ।

यसैबीच, उनीहरूले समस्या समाधानका लागि प्राविधिक टोली परिचालन गरी शीघ्र सेवा सञ्चालन गर्नुपर्ने माग सम्बन्धित निकायसँग गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 − 3 =