नेपालमा म्यारियटका प्रमुख ब्रान्ड भित्र्याउन सफल भयौं: विनोद चौधरी

काठमाडौं । चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले विश्वप्रसिद्ध होटल सञ्जाल म्यारियट इन्टरनेसनलसँगको साझेदारीले नेपालको आतिथ्य (हस्पिटालिटी) क्षेत्रलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरेका छन् ।

म्यारियट इन्टरनेसनलका अध्यक्ष डेभिड म्यारियटको नेपाल भ्रमणका अवसरमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै चौधरीले उक्त सहकार्यलाई नेपालको समृद्धि र पर्यटन क्षेत्रका लागि ऐतिहासिक उपलब्धिको रूपमा व्याख्या गरे ।

आफ्नो २८ वर्ष लामो आतिथ्य क्षेत्रको यात्रालाई स्मरण गर्दै उनले सन् १९९८ मा नेपालमा होटल व्यवसाय विस्तार गर्ने प्रयास प्राविधिक कारणले सफल हुन नसकेको बताए । तर दुई वर्षअघि सिंगापुरमा म्यारियट नेतृत्वसँग भएको भेटवार्ताले अहिलेको साझेदारीलाई मूर्त रूप दिएको उनको भनाइ थियो ।

चौधरीले म्यारियटको विश्वव्यापी सञ्जालसँगको सहकार्य नेपालका लागि मात्र नभई दक्षिण एसियाकै पर्यटन उद्योगका लागि महत्वपूर्ण रहेको बताए । म्यारियटका विश्वभर करिब ९ हजार ९ सयभन्दा बढी होटल र १७ लाखभन्दा बढी कोठा रहेको उल्लेख गर्दै उनले यस्तो विश्वव्यापी ब्रान्डसँगको सहकार्यले नेपाललाई अन्तर्राष्ट्रिय पर्यटन बजारमा थप स्थापित गर्ने विश्वास व्यक्त गरे ।

‘नेपालमा रित्ज–कार्लटन, वेस्टिन र जेडब्लु म्यारियट जस्ता प्रतिष्ठित ब्रान्डहरूको प्रवेशले विश्व समुदायमा सकारात्मक सन्देश प्रवाह गर्नेछ,’ उनले भने, ‘यसले नेपाल अब उच्चस्तरको आतिथ्य सेवा प्रदान गर्न पूर्ण रूपमा तयार छ भन्ने प्रमाणित गर्दछ ।’

उनले म्यारियटको विश्व मानचित्रमा नेपाललाई प्रमुख गन्तव्यका रूपमा स्थापित गर्न सफल भएको दाबी पनि गरे ।

समारोहमा चौधरीले नेपालको वर्तमान राजनीतिक नेतृत्व र युवा संसदप्रति आशावाद व्यक्त गर्दै विकासको मार्गचित्र कार्यान्वयनमा निजी क्षेत्रले सरकारसँग सहकार्य गर्ने प्रतिबद्धता जनाए ।

रित्ज–कार्लटन होटलको शिलान्यास नयाँ सरकार गठनकै दिन हुनु र त्यसको केही समयमै म्यारियट इन्टरनेसनलका अध्यक्ष डेभिड म्यारियट स्वयं नेपाल भ्रमणमा आउनुलाई उनले सुखद संयोग र महत्वपूर्ण उपलब्धिको रूपमा चित्रण गरे ।

चौधरीले नेपालमा म्यारियटका अधिकांश प्रमुख ब्रान्ड भित्र्याउन सफल भएको जानकारी दिँदै भारतमा पनि म्यारियटसँगको साझेदारीमा ५०० होटल सञ्चालन गर्ने लक्ष्यका साथ विस्तार भइरहेको बताए ।

उनका अनुसार भारतमा हरेक हप्ता एउटा नयाँ होटल थप्ने गरी विस्तारको काम तीव्र गतिमा अगाडि बढिरहेको छ ।

नेपाल सरकारले सन् २०२७ लाई ‘वेलनेस पर्यटन वर्ष’का रूपमा मनाउने तयारी गरिरहेका बेला म्यारियटसँगको साझेदारीले पर्यटन पूर्वाधार विकास र पर्यटन इकोसिस्टम निर्माणमा थप बल पुग्ने विश्वास चौधरीले व्यक्त गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + eleven =