बहालवाला सचिव कृष्णहरि पुष्कर पक्राउ, प्रधानमन्त्री बालेनलाई के पठाएका थिए मेसेज ?

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहलाई राजदूत नियुक्तिका लागि सहयोग माग्दै मोबाइल सन्देश पठाएका नेपाल सरकारका बहालवाला सचिव कृष्णहरि पुष्करलाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरेको खुलेको छ ।

उपराष्ट्रपतिको कार्यालयमा कार्यरत सचिव पुष्करलाई बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको निर्देशनमा प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो । उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले उनलाई नियन्त्रणमा लिएर बयान लिएपछि राति छाडेको स्रोतले जनाएको छ ।

प्रहरी स्रोतका अनुसार सचिव पुष्करले आफ्नो मुख्यसचिव बन्ने सम्भावना नरहेको उल्लेख गर्दै राजदूत पदमा नियुक्तिका लागि सहयोग गरिदिन प्रधानमन्त्री शाहलाई मोबाइल सन्देश पठाएका थिए ।

प्रधानमन्त्रीलाई पठाएको सन्देशमा उनले आफ्नो सेवा अवधि आगामी असार २४ गते समाप्त हुने उल्लेख गर्दै राजदूत पदका लागि प्रकाशित विज्ञापनबारे जानकारी गराएका थिए ।

‘सम्माननीय प्रधानमन्त्रीज्यू, नमस्कार । नेपाल सरकारका सचिवको कार्यकाल पाँच वर्षको हुने व्यवस्था छ । सम्माननीयज्यू, यसरी हेर्दा मुख्यसचिव पदमा हजुरको विशेष ध्यान भए मात्रै, नत्र कुनै सम्भावना छैन हजुर । यही भएर मेरो सेवा निवृत्ति आगामी असार २४ गते सुनिश्चित छ,’ पुष्करले प्रधानमन्त्रीलाई लेखेका थिए, ‘यसैबीच राजदूत पदका लागि विज्ञापन हेरेँ, हजुर । यस सम्बन्धमा हजुरको जानकारी, मार्गदर्शन तथा आवश्यक सहयोगका लागि विनम्र अनुरोध गर्दछु ।’

सन्देशमा उनले आफूलाई प्रधानमन्त्रीको ‘आज्ञाकारी’ भन्दै परिचयसमेत दिएका थिए । साथै आफ्नो स्थायी ठेगाना महोत्तरीको जलेश्वर नगरपालिका–४ रहेको उल्लेख गरेका थिए ।

प्रधानमन्त्री कार्यालयले उक्त सन्देशलाई गम्भीर रूपमा लिँदै प्रहरीलाई आवश्यक सोधपुछ गर्न भनेपछि उनलाई नियन्त्रणमा लिइएको स्रोतको दाबी छ ।

प्रधानमन्त्री कार्यालयका अनुसार सचिव पुष्करलाई बिहीबार कपनस्थित निवासबाट नियन्त्रणमा लिइएको थियो । उनीमाथि प्रशासनिक ‘चेन अफ कमान्ड’ उल्लंघन गर्दै व्यक्तिगत स्वार्थका लागि सिधै प्रधानमन्त्रीलाई सम्पर्क गरेको आरोप लगाइएको छ ।

घटनाबारे प्रधानमन्त्री कार्यालय, प्रहरी तथा सचिव पुष्करको तर्फबाट औपचारिक प्रतिक्रिया भने सार्वजनिक भएको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + 8 =