‘उपभोगमुखी बजेटले रोजगारी सिर्जना गर्दैन, बोलेर मात्र आर्थिक रूपान्तरण हुँदैन’

काठमाडौं । पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले सरकारले ल्याएको बजेट उपभोगमुखी रहेको भन्दै यस्तो बजेटले दीर्घकालीन आर्थिक रूपान्तरण र रोजगारी सिर्जना गर्न नसक्ने बताएका छन् ।

राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आगामी आर्थिक वर्षका लागि सरकारले ७ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य राखे पनि उक्त लक्ष्य हासिल गर्न कम्तीमा २२ देखि २४ प्रतिशतसम्म आयात बढ्नुपर्ने बताए ।

खतिवडाले वित्तीय क्षेत्रमा देखिएको अधिक तरलताको मुख्य कारण रेमिट्यान्सबाट भित्रिएको रकम रहेको उल्लेख गर्दै आर्थिक गतिविधि विस्तार र आयात वृद्धिले मात्रै त्यसमा केही सन्तुलन ल्याउन सक्ने बताए ।

‘आगामी बजेटमा राखिएको ७ प्रतिशत आर्थिक वृद्धि हासिल गर्न कम्तीमा २२–२४ प्रतिशत आयात बढ्नुपर्छ । त्यसले पनि केही हदसम्म सन्तुलन ल्याउन सक्छ । व्यावसायिक वातावरण राम्रो भयो र व्यवसायीहरूले आत्मविश्वासका साथ काम गर्न थाले भने त्यसले पनि सकारात्मक प्रभाव पार्छ,’ उनले भने ।

सरकारले आगामी १० देखि २० वर्षसम्म करका दरमा स्थायित्व दिने प्रतिबद्धता जनाएको भए पनि व्यवहारमा त्यसको संकेत नदेखिएको उनको टिप्पणी थियो ।

खतिवडाले उत्पादन र उद्यमशीलतालाई प्रोत्साहन गर्ने दाबी गरिए पनि कर्पोरेट करमा कुनै उल्लेखनीय सुधार नगरिएको भन्दै प्रश्न उठाए ।

‘यदि वास्तवमै उद्यमशीलतालाई प्रोत्साहन गर्ने हो भने २५ र २० प्रतिशत रहेको कर्पोरेट करको दरलाई क्रमशः २० र १५ प्रतिशतमा किन नझारिएको ? उपभोगसँग सम्बन्धित करहरू समायोजन गर्ने, तर उत्पादनसँग सम्बन्धित करहरूमा सुधार नगर्ने कस्तो नीति हो ?’ उनले प्रश्न गरे ।

उनले व्यक्तिगत आयकरको माथिल्लो सीमा ३९ प्रतिशतबाट २९ प्रतिशतमा झारिएको उल्लेख गर्दै यसले फेरि पनि उपभोगमा आधारित आर्थिक वृद्धिलाई नै प्राथमिकता दिएको बताए ।

‘व्यक्तिगत आयकरका दरहरू घटाएर फेरि उपभोग–आधारित आर्थिक वृद्धिको प्रक्रियालाई नै अगाडि बढाइँदै छ । के यही नै हाम्रो आर्थिक रूपान्तरण हो ? उपभोग–आधारित अर्थतन्त्रले रोजगारी सिर्जना गर्दैन,’ खतिवडाले भने ।

उनले मुलुकको आर्थिक रूपान्तरणका लागि उत्पादनमूलक उद्योग, विशेषगरी साना, मझौला तथा घरेलु उद्योगहरूको विस्तारमा जोड दिनुपर्ने बताए ।

साना तथा मझौला उद्यम (एसएमई) क्षेत्रको विकासबिना कृषिबाट औद्योगिक अर्थतन्त्रतर्फको रूपान्तरण सम्भव नहुने उल्लेख गर्दै उनले बजेटले यस क्षेत्रका लागि पुँजी परिचालन, प्रविधि हस्तान्तरण, उद्यमशीलता विकास तथा बजार संरक्षणका विषयमा कुनै ठोस योजना नल्याएको आरोप लगाए ।

‘साना तथा मझौला उद्योगहरूमा पुँजी कसरी परिचालन हुन्छ ? प्रविधि कहाँबाट आउँछ ? उद्यमशीलताको विकास कसरी हुन्छ ? ती उद्योगहरूको बजार संरक्षण कसरी गरिन्छ ? बजेटले यी प्रश्नहरूको उत्तर दिएको छैन,’ उनले भने ।

खतिवडाले व्यवसायीहरूको आत्मविश्वास अभिवृद्धि गर्न र लगानीमैत्री वातावरण निर्माण गर्न उत्पादन र उद्योग केन्द्रित कर नीति तथा रणनीतिक सुधार आवश्यक रहेकोमा जोड दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × four =