प्रधानमन्त्री भन्छन् – हाम्रो ध्यान पैसामा छ

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साहले नेपाललाई पैसाको आवश्यकता भएकोले सरकारको ध्यान पैसा बढाउनेतिर रहेको बताएका छन् ।
आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा सांसद प्रमेश हमालले गर्नुभएको प्रश्नको जवाफ दिँदै उनले उत्पादन र निर्यात बढाउन तत्काललाई नेपाल अल्पविकसित राष्ट्र (एलडिसी) बाट स्तरोन्नति हुने कार्यक्रम स्थगित गरिएको बताए ।
उनले नेपाललाई उत्पादन र निर्यातमुखी अर्थतन्त्रतर्फ लैजान आवश्यक रहेको बताए । उनले निर्यातमा प्राप्त हुँदै आएका कर छुट तथा व्यापारिक सहुलियतहरूलाई ध्यानमा राखेर सरकारले रणनीतिक कदम चाल्नुपर्ने उल्लेख गरे ।
प्रधानमन्त्री साहले एलडिसी स्तरोन्नतिसँगै नेपाली वस्तु निर्यातमा लाग्ने कर तथा व्यापारिक सुविधामा असर पर्न सक्ने भएकाले सरकारले दुई वर्षसम्मको थप समय लिएको जानकारी दिए ।
अहिले देशको प्राथमिकता आत्मविश्वास बढाउनेभन्दा पनि आर्थिक गतिविधि विस्तार गर्दै राजस्व र आम्दानी वृद्धि गर्नु रहेको उनको भनाई छ ।
उनले भने, ‘हाम्रो छिमेकी राष्ट्र चीन अस्ती भर्खरै डेभलपिङबाट डेभलबमा गएको थियो । जबकी त्यो देश डेभलवमेन्टको परकाष्टा नाघिसकेको देश हो, त्यो । यो कुराहरू चाँही रणनीतिक रूपमा सरकारले राख्नुपर्छ । अहिले नै हामीले एलडिसीबाट ग्रायजुयट हुँदै गर्दा हाम्रो व्यापारका कुराहरू, निर्यात गर्ने बस्तुहरूमा लाग्ने कर अहिले छुट पाइन्छ । हामी निर्यातमुखी हुनुपर्छ । देशमा उत्पादन भएको वस्तुहरू विभिन्न राष्ट्रहरूमा हामीले निर्यात गर्न पाउँ भन्ने हिसाबले दुई वर्ष थप गरेका हौँ । अहिले आत्मविश्वास बढाउने भन्दा पनि देशलाई पैसा चाहिएको छ, पैसा बढाउनेतिर ध्यान गएको छ, हाम्रो ।’
सासंद हमालले सबै मापदण्ड पुगिसक्दा पनि किन एलडिसी स्तरोन्नति गर्न समय थप गरेको ? भन्दै प्रश्न गरेका थिए ।








