भर्चुअल दुनियाँबाट उदाएका शक्तिहरू दिगो हुँदैनन्, छिट्टै ओरालो लाग्छन्: वर्षमान पुन

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका सांसद वर्षमान पुनले सामाजिक सञ्जाल र डिजिटल प्लेटफर्मको लहरबाट उदाएका राजनीतिक शक्तिहरू दिगो नहुने बताएका छन् ।

शनिवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले त्यस्ता शक्तिहरू छिट्टै ओरालो लाग्ने दाबी गरेका हुन् ।

पछिल्लो समय विकसित राजनीतिक प्रवृत्तिको विश्लेषण गर्दै नेता पुनले यस्ता शक्तिहरूमा विचार र नेतृत्वको अभाव रहेको टिप्पणी गरे । सांसद पुनले अहिलेको डिजिटल युगमा एजेण्डाहरू सामाजिक सञ्जालबाटै तय हुने र त्यहाँ कुनै निश्चित नेतृत्व नहुने बताए । नेता पुनले भर्चुअल दुनियाँको प्रभावका कारण निर्वाचनका क्रममा मतदान केन्द्रमा भौतिक उपस्थिति कम देखिए पनि परिणाम भने अनपेक्षित आउने गरेको उल्लेख गरे ।

उनले आफ्ना कार्यकर्ता र सङ्गठनहरूलाई आजको प्रविधिमैत्री बनाउनु चुनौतीपूर्ण रहेको स्वीकार गर्दै भर्चुअल माध्यमबाट उठेका आन्दोलनहरू जति छिटो माथि पुग्छन्, उति नै छिटो पतन हुने तर्क गरे । उनले नयाँ भनिएका दलका मन्त्रीहरू एक महिनाभित्रै पदमुक्त हुनुले उनीहरूको जग कमजोर रहेको पुष्टि गर्ने दाबी गरे ।

राजनीतिक विचार, त्याग, र बलिदानको जगबिना आएका शक्तिहरूले समाज सम्हाल्न नसक्ने पुनको ठहर छ ।

उनले भने ‘अहिले डिजिटल प्लेटफर्महरूमा, सामाजिक सञ्जालहरूमा, सञ्चार माध्यमहरूमा एजेण्डा बन्छ । त्यसपछि बराबरी सबै तेर्सो खालको मान्छेहरू, नेता कोही नेतृत्व गर्ने हुँदैन, त्यही नै एजेण्डा बन्छ । लाइक माइन्डेडहरु, मन मिल्नेहरूको ग्रुप बन्छ र तिनीहरूले एउटा एजेण्डा सेट गर्छन्, एउटा तरिका यो भएको छ । दोस्रो कुरा, यो यति धेरै आक्रामक छ, तीव्र छ कि कतिखेर कहाँ विस्फोट हुन्छ भन्न सकिने अवस्था छैन, यस्तो छ दोस्रो कुरा । तेस्रो कुरा असाध्यै हिंसात्मक छ, असाध्यै ध्वंसात्मक छ । यो खालको विशेषता देखियो भनेको छ र नेपालमा ठ्याक्कै त्यही भएको छ । नेता कोही छैन, डिजिटल उसमा छ, कहीँ देखिँदैन । अस्ति भोट हाल्दा पनि मान्छे कहीँ छैन, बुथमा मान्छे छैन, पछि भोट गन्दा त हजारको हजार छ यो बुथमा। मान्छे छैन तर कहाँ छ ? भर्चुअल दुनियाँमा छ, अनलाइनमा छ, सामाजिक सञ्जालमा छ । त्यसैले हामीले यो सामाजिक सञ्जालमा हाम्रा सङ्गठनहरू यो चैँ आजको प्रविधि मैत्री कसरी बनाउने, एउटा हाम्रो चुनौती यो छ। दोस्रो कुरा हामीले साथीहरूलाई, जनतालाई, महिला दिदीबहिनीहरूलाई के सम्झाउनुपर्ने हो भने त्यसरी भर्चुअल दुनियाँबाट छिट्टै उठेको आन्दोलन तीव्र रूपमा उठ्यो, तीव्र रूपमै तल जान सक्छ । अस्तिको २०७९ को चुनावमा मधेसतिर सिके राउतहरू ठुलो पार्टी भएर आएका थिए, अहिले त कहीँ पनि छैनन् ।

एकदम छिटो माथि गयो, छिटो गयो । यस्तो खालको हुन्छ । त्यसो भएर अहिले यति तिब्रतामा आएको आन्दोलन त्यस्तै तिब्रतामा जान सक्छ र भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ। त्यसो भएर यो गयो, लग्यो, ८२ सकियो होइन, स्थानीय चुनाव जाँदा नजाँदै पनि तल झर्न सक्छ । अस्ति भोट दिने मान्छेहरू सुकुम्वासीहरूले गल्ती भो, माओवादी या नेपाली कम्युनिष्ट पार्टी, काँग्रेस, एमाले हामी गल्ती गर्यौँ भनेर सार्वजनिक रूपमा माफी मागेको होइन त सुकुम्वासी वस्तिका दाजुभाइहरुले ? गल्ती गर्यौँ हामीले भनेर। त्यसैगरी त्यो मधेस तिर एक प्रतिशत केरे १०० रुपैयाँ सम्मको १०० रुपैयाँ भन्दा बढी ल्यायो भनेर नाका टाइट गरेपछि त्यहाँ चाहिँ हामी गल्ती गर्यौँ बालेनलाई विश्वास गरेर भनेको होइन यति छिटो ? त्यसैगरी विगतमा काम गरेर नेताहरूको परीक्षा हुन्थ्यो, अहिले त एक महिना भित्र दुई दुई जना मन्त्री स्याक भएको होइन ? हटाइएको होइन ? किनभने त्यसरी आए, त्यसरी नै जान्छन् । यो कुनै विचार, राजनीति, आन्दोलन, त्याग, बलिदान एउटा जग खडा गरेर आएको शक्ति होइन। आउँदा त्यसै आउँछ, जाँदा पनि त्यसै जाने हो। त्यसो हुँदा त यो भयङ्कर गइसक्यो होइन, हामी अलि तरिका पुर्याएर क्रान्तिकारी ढंगले जाँदा चाहिँ छिट्टै फेरि चाहिँ यो यस्तै नयाँ भन्नेहरू कोल्याप्स हुने र फेरि हाम्रै अगाडि आउनुहुन्छ। यो गतिमा छ अहिले, तीव्र छ। बिस्तारै विगत पञ्चायत कालमा भूमिगत एक एक संगठन, जनयुद्ध र जनआन्दोलन कालमा दुई दुई वटा जम्मा गरेर गएको जसरी आएको होइन यो आन्दोलन। त्यसरी नै जाँदैन अहिलेको भर्चुअल दुनियाँ भन्ने कुरा दोस्रो बुझ्नुपर्छ ।’

विगतको पञ्चायतकालीन सङ्घर्ष र जनयुद्धको जस्तो ठोस सङ्गठनात्मक आधार नभएका कारण हालको ‘भर्चुअल’ लहर स्थायी नहुनेमा उनले जोड दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + fifteen =