आगामी आर्थिक वर्षको बजेटप्रति निजी क्षेत्रको सकारात्मक प्रतिक्रिया, कार्यान्वयनमा जोड

काठमाडौं । सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटप्रति निजी क्षेत्रका प्रमुख तीन छाता संगठनहरूले सकारात्मक प्रतिक्रिया दिएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स र नेपाल उद्योग परिसंघका नेतृत्वले बजेटले निजी क्षेत्रका धेरै मागहरू सम्बोधन गरेको भन्दै यसलाई उत्साहजनक र सन्तुलित बताएका छन् ।

बजेटले कर प्रणालीमा सुधार, कृषि र पूर्वाधार क्षेत्रलाई प्राथमिकता तथा निजी क्षेत्रलाई आर्थिक विकासको साझेदारका रूपमा स्वीकार गरेको उनीहरूको ठहर छ ।

यद्यपि विगतको अनुभवलाई दृष्टिगत गर्दै व्यवसायीहरूले बजेटको प्रभावकारी कार्यान्वयनमा विशेष चासो व्यक्त गरेका छन् । वर्तमान सरकारसँग स्पष्ट बहुमत रहेकाले यसपटक घोषणा गरिएका कार्यक्रमहरूले मूर्त रूप पाउनेमा निजी क्षेत्र आशावादी देखिएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटले निजी क्षेत्रलाई उत्साहित बनाएको बताए । संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष श्रेष्ठले बजेटमा गरिएका कतिपय घोषणाहरू सकारात्मक रहेको र यसले शिथिल अर्थतन्त्रलाई पुनर्जागरण गर्ने अपेक्षा राखेको उल्लेख गरे ।

अध्यक्ष श्रेष्ठले करको दरमा एकद्वार प्रणाली लागू गर्नुपर्ने निजी क्षेत्रको मागलाई बजेटले सम्बोधन गर्न खोजेको बताए । मध्यम वर्गीय आय भएका व्यक्तिका लागि वार्षिक करको सीमा (सिलिङ) १२ लाख पु¥याउन माग गरिएकोमा सरकारले १० लाख कायम गरेको भन्दै उनले यसलाई सकारात्मक कदमका रूपमा लिए । यस्तै, डिजिटल भुक्तानीमा १० प्रतिशत छुट दिने व्यवस्था र कृषिलाई दिइएको प्रोत्साहनको पनि उनले स्वागत गरे ।

बजेटमा कृषिको रूपान्तरणका लागि नयाँ मोडालिटी ल्याउन खोजिएको श्रेष्ठको भनाइ छ । पूर्वाधार क्षेत्रमा विनियोजित ४०० अर्बभन्दा बढीको बजेट र सडक स्तरोन्नति एवं पुल निर्माणका योजनाले लगानी परिचालनमा सघाउ पुग्ने उनले उल्लेख गरे ।

विशेषगरी ऊर्जा व्यापार, प्रसारण लाइन र वितरणमा निजी क्षेत्रलाई सहभागी गराउने र मयुरधाप तथा मोतीपुर औद्योगिक क्षेत्र निजी क्षेत्रमार्फत सञ्चालन गर्न दिने घोषणाले सरकारले निजी क्षेत्रलाई साझेदारका रूपमा स्वीकार गरेको देखिएको उनको तर्क छ ।

अध्यक्ष श्रेष्ठले विगतमा बजेटका घोषणाहरू कार्यान्वयनमा फितलो हुने गरेको स्मरण गर्दै यस पटकको सरकारसँग स्पष्ट बहुमत रहेकाले कार्यान्वयन पक्ष बलियो हुनेमा आशा व्यक्त गरे ।

बन्द रहेका उद्योगहरूलाई सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडेलमा सञ्चालन गर्ने र युवाहरूलाई नवप्रवर्तनमार्फत स्वदेशमै टिकाउने कार्यक्रमहरू बजेटमा समावेश भएकोमा उनले खुशी व्यक्त गरे । महासंघले बजेटका बुँदाहरूको विस्तृत अध्ययन गरिरहेको र केही दिनमै औपचारिक धारणा सार्वजनिक गर्ने जानकारी पनि उनले दिए ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेट नीतिगत रूपमा राम्रो र उत्साहजनक रहेको बताए । बजेटले राजश्व प्रशासनमा व्यापक सुधारको प्रयास गरेको र निजी क्षेत्रका लागि सकारात्मक सन्देश प्रवाह गरेको उल्लेख गरे ।

अध्यक्ष अग्रवालले बजेटमार्फत अन्तःशुल्क, भन्सार र आयकरका दरहरूमा गरिएका परिवर्तनहरूलाई सकारात्मक रूपमा लिँदै आर्थिक ऐनको विस्तृत अध्ययनपछि थप विश्लेषण गर्न सकिने बताए । सरकारले राखेको ७ प्रतिशतको आर्थिक वृद्धिदर र मुद्रास्फीतिलाई ६ प्रतिशतमा सीमित राख्ने लक्ष्यलाई उनले ‘महत्वाकांक्षी’ संज्ञा दिए ।

७ प्रतिशतको आर्थिक वृद्धिका लागि २० प्रतिशतभन्दा बढी कर्जा विस्तार आवश्यक पर्नेतर्फ संकेत गर्दै उनले लक्ष्य चुनौतीपूर्ण भएपनि असम्भव नरहेको धारणा व्यक्त गरे । विगतका वर्षहरूमा बजेट कार्यान्वयनमा समस्या देखिने गरे पनि यसपटक भने कार्यान्वयन पक्ष सहज हुनेमा अध्यक्ष अग्रवालले विश्वास व्यक्त गरे ।

सरकारसँग झन्डै दुई–तिहाइको समर्थन रहेको र पुनर्संरचनासहित द्रुत मार्ग (फास्ट ट्रयाक) बाट अघि बढ्ने नीति लिएका कारण कार्यान्वयनमा विगतको जस्तो ठूलो चुनौती नदेखिने उनको विश्लेषण छ ।

बजेटले बन्द अवस्थामा रहेका उद्योगहरूलाई पुनः सञ्चालन गर्ने सम्बन्धमा ल्याएका नीतिगत व्यवस्थाप्रति निजी क्षेत्र उत्साहित रहेको उनले बताए । बजेट वक्तव्यमा समेटिएका विषयहरू कार्यान्वयनमा आएमा अर्थतन्त्र चलायमान हुने र उद्योगी व्यवसायीहरूले सहज महसुस गर्ने उनको भनाइ छ ।

उनले भने, ‘नीतिगत हिसाबले बजेट निकै राम्रो छ । राजश्वका क्षेत्रमा गरिएका सुधार र दरहरूमा गरिएको परिमार्जनले व्यावसायिक वातावरणमा सुधार ल्याउने अपेक्षा गर्न सकिन्छ ।’

नेपाल उद्योग परिसंघ (सीएनआई) ले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटलाई सकारात्मक रूपमा टिप्पणी गरेको छ । संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले बजेटले निजी क्षेत्रका धेरै मागहरू सम्बोधन गरेको बताए ।

अध्यक्ष पाण्डेले बजेटमा करका दरहरूमा परिमार्जन, कानूनी सुधार, विदेशी मुद्राको ‘रिप्याट्रिएसन’ (फिर्ता लैजाने प्रक्रिया) र डिजिटलाइजेसन जस्ता महत्वपूर्ण विषयहरू समेटिएको उल्लेख गरे । यस्तै, स्टार्टअपहरूलाई प्रोत्साहन गर्ने नीति पनि बजेटमा समावेश हुनु लगानीकर्ताका लागि उत्साहजनक रहेको उनको भनाइ छ ।

निजी क्षेत्रले मूल्य अभिवृद्धि कर (भ्याट) प्रणालीलाई बहुदरमा लैजान दिएको सुझावका सन्दर्भमा बजेटमा अध्ययन गर्ने उल्लेख गरिएको भन्दै उनले यसलाई सकारात्मक कदम मान्न सकिने बताए । संस्थागत क्षमताको विकास गर्दै आगामी दिनमा यसलाई कार्यान्वयनमा लैजानुपर्नेमा उनले जोड दिए ।

बजेटको ढाँचा राम्रो भएपनि विगतमा कार्यान्वयनको पक्ष फितलो हुने गरेको प्रति अध्यक्ष पाण्डेले सरकारको ध्यानाकर्षण गराए । परिसंघले बजेटको विस्तृत अध्ययन गरी छिट्टै आफ्नो औपचारिक धारणा सार्वजनिक गर्ने जानकारी पनि उनले दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 4 =