सरकारले मानव अधिकार आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गरोस्: राजेन्द्र लिङदेन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले मानव अधिकार आयोगले सार्वजनिक गरेको प्रतिवेदन तत्काल कार्यान्वयनमा लैजान सरकारसँग आग्रह गरेका छन् ।

पार्टी स्थापना दिवसको ३६औं वर्ष प्रवेशको अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष लिङदेनले आयोगले दोषी ठहर गरेका व्यक्तिहरूले पनि छिटोभन्दा छिटो कानुनी प्रक्रियामार्फत सफाइ लिनुपर्ने बताए ।

उनले मानव अधिकार आयोगको प्रतिवेदन नेपालभित्र मात्रै सीमित नहुने उल्लेख गर्दै संयुक्त राष्ट्रसंघ तथा अन्तर्राष्ट्रिय मानव अधिकारसँग सम्बन्धित विभिन्न निकायमा समेत अभिलेखका रूपमा रहने बताए ।

‘यो अत्यन्तै गम्भीर विषय हो । आयोगले दोषी देखाएका व्यक्तिहरूले प्रक्रिया पूरा गरेर यथाशीघ्र सफाइ लिनुपर्छ,’ उनले भने, ‘विगतमा यस्ता प्रतिवेदनकै आधारमा विभिन्न देशहरूले मानव अधिकार उल्लंघनमा संलग्न ठहरिएका व्यक्तिहरूलाई विदेश भ्रमणमा रोक लगाएका उदाहरण पनि छन् ।’

अध्यक्ष लिङदेनले प्रतिवेदनले धेरै विषय उजागर गरेको उल्लेख गर्दै सरकारले त्यसलाई कार्यान्वयन गर्ने दिशामा अग्रसर हुनुपर्ने आवश्यकता औंल्याए ।

उनले दोषी ठहर गरिएका व्यक्तिहरूले कानुनी प्रक्रिया पूरा गर्नुपर्ने र सरकारले पनि आवश्यक प्रक्रिया अघि बढाएर प्रतिवेदन कार्यान्वयनमा लैजानुपर्ने बताए ।

कार्यक्रममा अध्यक्ष लिङदेनले राप्रपा मुलुकको एकमात्र वैकल्पिक राजनीतिक शक्ति भएको दाबी गर्दै पार्टीका नेता–कार्यकर्तालाई निराश नहुन आग्रह समेत गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + nine =