लोकतन्त्र रक्षाका लागि काँग्रेस फेरि जाग्नुपर्छः सिटौला

काठमाडौं । नेपाली काँग्रेसका नेता एवं राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद सिटौलाले देशको वर्तमान राजनीतिक अवस्थाप्रति चिन्ता व्यक्त गरेका छन् ।

जनकपुरमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै सिटौलाले लोकतन्त्र र संविधानको रक्षाका लागि काँग्रेस कार्यकर्ताहरू पुनः जागरुक हुनुपर्ने बताएका हुन् ।

उनले मुलुकको राजनीतिक अवस्था सन्तोषजनक नरहेको टिप्पणी गर्दै राज्य सञ्चालनका प्रमुख अङ्गहरू न्यायपालिका, प्रशासन, सुरक्षा निकाय र संसद्को कार्यशैलीप्रति प्रश्न उठाए ।

सिटौलाले भने, ‘अहिले देशको राजनीतिक वृत्तको सूक्ष्म अवलोकन गर्ने हो भने नेपालको राजनीति ठीक ढङ्गले अगाडि बढिरहेको छैन । त्यसैले संविधान र लोकतन्त्र जोगाउन काँग्रेस कार्यकर्ताहरू पुनः एकीकृत भएर नयाँ मार्गचित्र निर्माण गर्नुपर्ने आवश्यकता छ ।’

उनले २००७ सालको क्रान्तिमा तराई क्षेत्र, विशेषगरी विराटनगर, जनकपुर र वीरगन्जले खेलेको भूमिकाको स्मरण गर्दै त्यही आन्दोलनले नेपालमा प्रजातन्त्र स्थापना गरेको बताए । ‘२००७ सालको क्रान्ति नेपालको आधुनिक युगको प्रादुर्भाव हो । तत्कालीन नेतृत्वले आफ्नो स्वार्थभन्दा माथि उठेर देश र जनताका लागि गरेको त्याग नै आज हाम्रो प्रेरणाको स्रोत हो,’ उनले भने ।

संविधान संशोधनको प्रसङ्ग उल्लेख गर्दै सिटौलाले संविधानको समावेशी र समानुपातिक चरित्रलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिए । उनले संविधान संशोधन हुन सक्ने भए पनि यसको मूल भावना कमजोर पार्न नहुने बताए ।

सिटौलाले पछिल्लो समय नेतृत्व तहमा जवाफदेहिताको अभाव देखिएको टिप्पणी गर्दै श्वेच्छाचारी प्रवृत्तिविरुद्ध निरन्तर संघर्ष आवश्यक रहेको धारणा राखे ।

उनले जनताको अधिकार, आर्थिक समृद्धि र पहिचानका लागि शहीद तथा अग्रजहरूले देखाएको मार्गमा दृढतापूर्वक अघि बढ्नु नै उनीहरूप्रति सच्चा श्रद्धाञ्जली हुने बताए । साथै कार्यकर्ताहरूलाई जिम्मेवारीबोधका साथ लोकतन्त्र र संविधानको रक्षामा लाग्न आह्वान गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − seven =