पार्टीभित्र विधिको शासन र एकता आवश्यक छः प्रकाशमान सिंह

जनकपुर । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले पार्टीलाई संस्थापक नेताहरूले निर्दिष्ट गरेको मूल्य–मान्यता र आदर्शअनुरूप अघि बढाउनुपर्ने बताएका छन् ।

धनुषा क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापति स्वर्गीय श्यामनिधि यादवको श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै सिंहले पार्टीभित्र विधिको शासन स्थापित गर्नु अहिलेको मुख्य आवश्यकता रहेको बताए ।

उनले नेपाली काँग्रेसको नेतृत्वमा जारी भएको वर्तमान संविधानको रक्षा गर्दै जनताका आकाङ्क्षा पूरा गर्न पार्टीले आफ्ना कमजोरी सुधार गर्नुपर्ने धारणा राखे ।

पार्टीको आन्तरिक विवाद र आसन्न १५ औँ महाधिवेशनबारे चर्चा गर्दै सिंहले अहिले काँग्रेस दुई धारमा विभाजित देखिएको टिप्पणी गरे । उनका अनुसार विशेष महाधिवेशन पक्षधर र नियमित महाधिवेशन पक्षधरबीच मतभेद देखिएकाले आगामी महाधिवेशनलाई ‘एकताको महाधिवेशन’ बनाउन आवश्यक छ ।

सिंहले दुवै पक्षलाई विश्वासमा लिने गरी साझा र भरपर्दो संयन्त्र बनाएर मात्र महाधिवेशन प्रक्रिया अगाडि बढाउनुपर्ने सुझाव दिए ।

उनले भने, ‘हाम्रा आदरणीय संस्थापक नेताहरूले जुन संस्कार र मूल्य–मान्यताका आधारमा काँग्रेस स्थापना गर्नुभयो, त्यसलाई जीवन्त राख्नु आजको मुख्य चुनौती हो । १५ औँ महाधिवेशनका लागि सदस्यता नवीकरण र नयाँ वितरण भइसकेको अवस्थामा फेरि अद्यावधिक गर्ने नाममा कार्यकर्तामाझ डर र त्रास सिर्जना गर्नु उचित हुँदैन ।’

सिंहले प्रविधिको प्रयोगको नाममा विधि र प्रक्रिया मिचेर आफ्ना पक्षकालाई मात्र स्थान दिने प्रवृत्तिले पार्टीलाई कमजोर बनाउने चेतावनी दिए ।

उनले सत्ता र शक्तिको आडमा पार्टीको विधान र पद्धति मिच्ने कार्य रोकिनुपर्ने उल्लेख गर्दै विधिको शासनका लागि लडेको पार्टीभित्रै विधि उल्लंघन हुनु विडम्बनापूर्ण भएको बताए ।

स्वर्गीय श्यामनिधि यादवले पार्टी संगठन र लोकतान्त्रिक आन्दोलनमा पुर्‍याएको योगदानको स्मरण गर्दै सिंहले उहाँप्रति सच्चा श्रद्धाञ्जली अर्पण गर्न पनि पार्टीलाई सही दिशामा अघि बढाउन आवश्यक रहेको बताए ।

उनले काँग्रेस बलियो भए मात्र लोकतन्त्र र राष्ट्रियता मजबुत हुने उल्लेख गर्दै व्यक्तिगत स्वार्थभन्दा माथि उठेर पार्टी हितमा लाग्न कार्यकर्ताहरूलाई आग्रह गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 5 =