छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव जेठ १७ देखि काठमाडौंमा

काठमाडौं । आदिवासी जनजाति चलचित्र महासंघको आयोजनामा ‘छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव–२०८३’ आगामी जेठ १७ गतेदेखि सुरु हुने भएको छ ।
महोत्सव काठमाडौंस्थित चलचित्र विकास बोर्डमा जेठ १७, १८ र १९ गतेसम्म सञ्चालन हुनेछ । बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत महासंघले महोत्सवबारे जानकारी दिएको हो ।
महासंघका अनुसार नेपालजस्तो बहुभाषिक, बहुसांस्कृतिक तथा बहुधार्मिक विशेषता बोकेको मुलुकमा आदिवासी जनजाति समुदायको इतिहास, भाषा, लिपि, संस्कृति, सामुदायिक स्मृति तथा मौलिक कथनलाई उजागर गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको हो ।
महोत्सव निर्देशक सागर केरुङले यस वर्षको महोत्सव केवल चलचित्र प्रदर्शनमा सीमित नभई सांस्कृतिक न्याय, आत्मप्रतिनिधित्व, भाषिक पुनर्जागरण तथा औपनिवेशिकताविरुद्धको प्रतिरोधको माध्यमका रूपमा प्रस्तुत गरिने बताए ।
महोत्सवमा लिम्बू, नेवारी, गुरुङ, तामाङ, मगर, भुजेल, माझी तथा राजवंशी समुदायका कथानक चलचित्र, लघु चलचित्र र वृत्तचित्र प्रदर्शन गरिने आयोजकले जनाएको छ ।
प्रदर्शन हुने चलचित्रमा नेवारी चलचित्र ‘स्वयंगु’ निर्देशक दिनेश लिङदेन, गुरुङ चलचित्र ‘डल्स्यो रामरानी’ निर्देशक जनक गुरुङ, तामाङ चलचित्र ‘ह्याङ तामाङ’ निर्देशक निमा लामा तथा मगर चलचित्र ‘दिलसरा’ निर्देशक अशोक आले रहेका छन् ।
त्यसैगरी लघु चलचित्रतर्फ ‘तहरसिङ’ निर्देशक सागर केरुङ, ‘दुख्ला ग्याम’ निर्देशक हुतबहादुर तामाङ, ‘निको पहिचान’ निर्देशक विपना तामाङ तथा ‘लाहुरेनी’ निर्देशक विशाल रोक्का मगरका चलचित्र प्रदर्शन गरिनेछ ।
महोत्सवमा वृत्तचित्र र कृत्रिम बौद्धिकता (एआई) प्रविधिबाट निर्मित विशेष प्रस्तुतिसमेत समावेश गरिने महासंघले जनाएको छ ।
आयोजकका अनुसार उत्कृष्ट चलचित्र, उत्कृष्ट निर्देशक, उत्कृष्ट पटकथा, उत्कृष्ट अभिनेता तथा अभिनेत्री लगायत विभिन्न विधामा पुरस्कार तथा जुरी अवार्ड प्रदान गरिनेछ ।
महासंघका कार्यवाहक अध्यक्ष भुइसल लामाले आदिवासी चलचित्रलाई मनोरञ्जनका रूपमा मात्र नभई सामाजिक, सांस्कृतिक र राजनीतिक दस्तावेजका रूपमा आत्मसात गर्नुपर्ने बताए ।








