ब्रिटिश इन्टरनेशनल इन्भेस्टमेन्ट र लक्ष्मी सनराइज बैंकबीच २ करोड ५० लाख डलरको कर्जा सम्झौता

काठमाडौँ । ब्रिटिश इन्टरनेशनल इन्भेस्टमेन्ट (BII) र लक्ष्मी सनराइज बैंक लिमिटेड (LSL) बीच २ करोड ५० लाख अमेरिकी डलर बराबरको कर्जा सुविधा सम्झौता सम्पन्न भएको छ ।
यस सहकार्यको उद्देश्य नेपालका लघु, साना तथा मझौला उद्यम (MSMEs) लाई वित्तीय पहुँच विस्तार गर्नुका साथै विशेषगरी महिला उद्यमीलाई प्रोत्साहन
गर्नु रहेको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार यस लगानीमार्फत लक्ष्मी सनराइज बैंकले MSME क्षेत्रमा दीर्घकालीन कर्जा प्रवाह विस्तार गर्नेछ, जसअन्तर्गत कुल सुविधाको ३० प्रतिशत हिस्सा महिलाको नेतृत्वमा रहेका व्यवसायका लागि लक्षित गरिने छ । यस सहकार्यले वित्तीय पहुँचबाट वञ्चित व्यवसायीलाई पूँजी उपलब्ध गराई रोजगारी सिर्जना, उद्यमशीलता प्रवर्द्धन तथा समावेशी निजी क्षेत्र विकासमा योगदान पुर्याउने विश्वास गरिएको छ ।
साथै, BII को प्राविधिक सहयोग कार्यक्रम ‘Invest for Impact Nepal (IIN)’ ले महिला स्वामित्व तथा नेतृत्व भएका व्यवसायलाई सेवा विस्तार गर्न बैंकलाई थप सक्षम बनाउन सहयोग गरेको कम्पनीले जनाएको छ ।
यस सँगै लक्ष्मी सनराइज बैंकले आफ्नो वातावरणीय तथा सामाजिक व्यवस्थापन प्रणाली अझ सुदृढ बनाउने प्रतिबद्धता पनि जनाएको छ। यसले बैंकको दिगोपनासम्बन्धी रणनीति तथा जिम्मेवार बैंकिङ अभ्यासलाई थप बलियो बनाउँदै वातावरणीय र सामाजिक जोखिम व्यवस्थापन तथा दिगो वित्तीय पहललाई टेवा पुर्याउने बताइएको छ।
बेलायतकी हिन्द–प्रशान्त मामिला तथा समानता मन्त्री सीमा मल्होत्राले भनिन् ‘बेलायत लामो समयदेखि नेपालको विश्वसनीय साझेदारका रूपमा रहँदै आएको छ । नेपालको अर्थतन्त्रलाई अझ सुदृढ, समावेशी र समृद्ध बनाउन बेलायतले निरन्तर सहयोग गर्दै आएको छ। विशेषगरी महिलाद्वारा सञ्चालित साना तथा मझौला व्यवसायहरूलाई वित्तीय पहुँच विस्तार गर्न ब्रिटिश इन्टरनेशनल इन्भेस्टमेन्टले लक्ष्मी सनराइज बैंकसँग सहकार्य गरेको देख्दा उत्साहित छौं। यो साझेदारी आर्थिक अवसर विस्तार गर्ने, महिला उद्यमशीलतालाई प्रोत्साहन गर्ने तथा दिगो आर्थिक विकासलाई अघि बढाउने हाम्रो साझा प्रतिबद्धताको उदाहरण हो ।’
BII का एसिया क्षेत्र प्रमुख तथा प्रबन्ध निर्देशक श्रीनी नागराजनले भने ‘BII ले सबैभन्दा बढी प्रभाव पार्न सकिने क्षेत्रमा लगानी केन्द्रित गर्दै आएको छ, र नेपाल हाम्रो फ्रन्टियर मार्केट रणनीतिको महत्वपूर्ण हिस्सा हो । यस रणनीतिअन्तर्गत हाम्रो नयाँ लगानीको कम्तीमा २५ प्रतिशत हिस्सा संयुक्त राष्ट्रसंघले परिभाषित गरेका अति कम विकसित राष्ट्रहरूमा केन्द्रित हुनेछ । लक्ष्मी सनराइज बैंकसँगको सहकार्यमार्फत हामी नेपालका वित्तीय पहुँचबाट वञ्चित व्यवसायलाई सहयोग गर्ने क्षमता र पहुँच भएको अग्रणी वित्तीय संस्थालाई साथ दिइरहेका छौं । निजी क्षेत्रको दिगो विकासका लागि यस्तो
वित्तीय पहुँच अत्यन्त आवश्यक छ ।’
लक्ष्मी सनराइज बैंकका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत सुमेद भट्टराईले भने ‘ब्रिटिश इन्टरनेशनल इन्भेस्टमेन्टसँगको यो सहकार्य समावेशी र दिगो बैंकिङतर्फको हाम्रो यात्रामा महत्वपूर्ण उपलब्धि हो।MSME हरू नेपालको अर्थतन्त्रको मेरुदण्ड भए पनि विशेषगरी महिला नेतृत्वका व्यवसाय अझै
औपचारिक वित्तीय पहुँचबाट टाढा छन्। यो २ करोड ५० लाख अमेरिकी डलरको सुविधा मार्फत हामी त्यो खाडल कम गर्न सक्षम हुनेछौं। 2X Challenge अन्तर्गतको मान्यताले पनि लैङ्गिक समावेशी वित्तीय सेवाप्रतिको हाम्रो प्रतिबद्धता पुष्टि गरेको छ। BII सँग मिलेर देशभरका उद्यमी र समुदायका लागि दीर्घकालीन आर्थिक अवसर सिर्जना गर्न हामी उत्साहित छौं।’








