जेनजी आन्दोलनमा नेपाली सेनाको कमजोरी देखिएको आयोगको निष्कर्ष

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले २०८२ भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा नेपाली सेनाको कमजोरी देखिएको ठहर गरेको छ ।

जेनजी आन्दोलनका क्रममा भएको मानव अधिकार हननसम्बन्धी अनुसन्धानपछि बुधबार कार्यान्वयनका लागि सिफारिससहित सार्वजनिक गरिएको प्रतिवेदनमा सो निष्कर्ष उल्लेख गरिएको हो ।

आयोगका अनुसार संकलित प्रमाणहरूको सूक्ष्म विश्लेषण गर्दा सिंहदरबार, सर्वोच्च अदालत र राष्ट्रपति भवनलगायत महत्वपूर्ण संरचनामा तोडफोड तथा आगजनीबाट देशभर ठूलो मानवीय, भौतिक र आर्थिक क्षति भएको घटनामा नेपाली सेनाको भूमिका कमजोर देखिएको हो ।

प्रतिवेदनमा भनिएको छ, ‘उल्लेखित २३ र २४ गतेको प्रदर्शनमा सिंहदरबार, सर्वोच्च अदालत, राष्ट्रपति भवन समेतमा तोडफोड तथा आगजनी गरी देशैभरि जुन प्रकारको मानवीय, भौतिक तथा आर्थिक क्षति भएको छ, सो हुनुमा नेपाली सेनाको पनि कमजोरीहरू देखिएको ।’

आयोगले नेपाली सेनाले जनअपेक्षा अनुसार राष्ट्रिय सम्पत्तिको सुरक्षा गर्न नसकेको तथा आम नागरिकको मानव अधिकार संरक्षणप्रति संवेदनशील हुन नसकेको उल्लेख गरेको छ ।

त्यस्तै, भविष्यमा यस्ता घटना दोहोरिन नदिन राष्ट्रिय सम्पत्तिको संरक्षण र नागरिकको मानव अधिकार संरक्षणलाई प्राथमिकतामा राख्न प्रधानसेनापतिलाई निर्देशन दिन सरकारलाई सिफारिस गरिएको छ ।

साथै, सिंहदरबार र राष्ट्रपति भवन शीतल निवासमा तैनाथ सेनाका तत्कालीन कमान्डरहरूलाई सचेत गराउन पनि आयोगले सरकारलाई निर्देशनात्मक सिफारिस गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 4 =