०८४ को निर्वाचन र देशको रक्षाका लागि पार्टीको पहलकदमी आवश्यक: अग्निप्रसाद सापकोटा

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वसभामुख अग्निप्रसाद सापकोटाले मुलुकको रक्षा र आगामी २०८४ सालको निर्वाचनलाई लक्षित गर्दै पार्टीले नयाँ पहलकदमी लिनु अनिवार्य रहेको बताएका छन् ।
बुधवार पार्टीको भेलालाई सम्बोधन गर्दै नेता सापकोटाले वर्तमान राजनीतिक परिस्थिति र पार्टी एकताका जटिलताहरूका कारण समयमै भेला आयोजना गर्नुपरेको स्पष्ट पारेका हुन् ।
नीति तथा कार्यक्रम र बजेट निर्माणको समय नजिकिँदै गर्दा भेला बोलाउनु उपयुक्त हो कि होइन भन्ने जिज्ञासा उठे पनि पार्टीको आन्तरिक सुदृढीकरणका लागि यो आवश्यक रहेको उनको तर्क छ । नेता सापकोटाले भेलाबाट निस्कने निष्कर्ष र संयुक्त संश्लेषणले पार्टीमा नयाँ आत्मविश्वास र सङ्कल्प पैदा गर्ने विश्वास व्यक्त गरे ।
उनले आगामी २०८४ को निर्वाचनमा पार्टीको प्रभावकारी उपस्थितिका लागि अहिलेदेखि नै ठोस पहलकदमी लिनुपर्नेमा जोड दिए ।
उनले भने ‘बजेट र नीति तथा कार्यक्रम ल्याउन अझै १५ दिनको समय बाँकी छ । यो समयमा हामीले पार्टीभित्र सिक्ने र सिकाउने प्रक्रियालाई अघि बढाएका हौँ । यसले हाम्रो कार्यसम्पादनमा कुनै प्रतिकूल असर पार्दैन । हामीले नयाँ ढङ्गले पहलकदमी नलिए देशको रक्षा हुन सक्दैन । त्यसैले यो भेला र यसपछिका निर्णयहरूले राष्ट्रिय राजनीतिमा दूरगामी महत्त्व राख्नेछन् ।’
सापकोटाले विगतका अनुभवहरूबाट पाठ सिक्दै नयाँ कार्यशैलीका साथ अघि बढ्न कार्यकर्ताहरूलाई आग्रह समेत गरे ।








