तीव्र गतिका भारवाहक सवारीले जनजीवन जोखिममा: अनुष्का श्रेष्ठ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद अनुष्का श्रेष्ठले अत्यधिक भारवाहक सवारी साधनको तीव्र गतिका कारण सर्वसाधारणको ज्यान जोखिममा परेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन् ।

बुधवार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद श्रेष्ठले ललितपुरको कार्यविनायक–नखु सडकखण्डमा भएको दुर्घटनाको उदाहरण दिँदै सडक सुरक्षाको चुनौतीबारे चर्चा गरिन् ।

उनले निर्धारित गति सीमाभन्दा धेरै बढी गतिमा सवारी चलाउने प्रवृत्ति बढ्दै गएको बताइन् । यस्ता सवारी साधनहरू प्रायः जीर्ण अवस्थामा रहने, टायर खिइएका हुने तथा ब्रेकले समेत राम्रोसँग काम नगर्ने भएकाले दुर्घटनाको जोखिम उच्च रहेको उनको भनाइ थियो ।

विशेषगरी बिहानको समयमा काठमाडौं उपत्यका प्रवेश गर्ने तथा भित्री सडकमा सञ्चालन हुने सवारी साधनमा समस्या बढी देखिएको उनले उल्लेख गरिन् ।

‘नर्मल स्पिड लिमिट ३० किलोमिटर प्रतिघण्टा तोकिएको स्थानमा यस्ता हेभी लोड बोकेका सवारीहरू ८० किलोमिटर प्रतिघण्टाको गतिमा गुड्ने गरेका छन्,’ उनले भनिन् ।

सांसद श्रेष्ठले ट्राफिक प्रहरीले पछिल्लो समय ट्राफिक नियम उल्लंघन गर्नेहरूलाई कारबाही गर्नुका साथै सामाजिक सञ्जालमार्फत सचेतना फैलाउने काम सकारात्मक रहेको बताइन् ।

उनले कार्यविनायक–नखु लगायतका क्षेत्रमा निगरानी बढाउन तथा तीव्र गतिका सवारी साधनलाई तत्काल नियन्त्रणमा लिन सम्बन्धित निकायसँग माग गरिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − 5 =