पहिलो आणविक पनडुब्बी निर्माण गर्ने दक्षिण कोरियाको योजना

एजेन्सी । दक्षिण कोरियाले सन् २०३० को दशकको मध्यसम्ममा आफ्नो पहिलो आणविक शक्तिबाट चल्ने पनडुब्बी (न्यूक्लियर सबमरिन) प्रक्षेपण गर्ने योजना सार्वजनिक गरेको छ ।
दक्षिण कोरियाली रक्षा मन्त्रालयले मंगलवार यससम्बन्धी आधारभूत खाका प्रश्तुत गर्दै उक्त पनडुब्बीलाई सन् २०३० को दशकको अन्त्यतिर वा त्यसपछि सैन्य परिचालनमा ल्याइने लक्ष्य राखिएको जानकारी दिएको छ ।
मन्त्रालयद्वारा जारी प्रेस विज्ञप्तिकाअनुसार यस परियोजनालाई व्यवस्थित रूपमा विकास र प्राप्ति गर्नका लागि राष्ट्रियस्तरको कार्यक्रमका रूपमा अगाडि बढाइनेछ । दक्षिण कोरियाले यी पनडुब्बीहरूको विकास र निर्माण स्वदेशमै गर्ने योजना बनाएको छ, जसमा आणविक रिएक्टरका लागि इन्धनका रूपमा ‘लो–इनरिच्ड’ (कम संवद्र्धित) युरेनियम प्रयोग गरिनेछ ।
रक्षा मन्त्रालयकाअनुसार आणविक पनडुब्बीहरू हाल प्रचलनमा रहेका डिजेल इन्जिनयुक्त पनडुब्बीहरूको तुलनामा निकै प्रभावकारी हुनेछन् । विशेष गरी यिनीहरूको पानीमुनि लामो समयसम्म रहन सक्ने क्षमता (इन्ड्युरेन्स) र उच्च गतिशीलताले देशको रक्षा सामथ्र्यमा उल्लेख्य वृद्धि गर्ने अपेक्षा गरिएको छ ।
यसैबीच, दक्षिण कोरियाले आफ्नो आणविक अप्रसारप्रतिको प्रतिवद्धतालाई पुनः दोहोर्याएको छ । मन्त्रालयले दक्षिण कोरियाले कुनैपनि स्वरूपमा आणविक हतियार नराख्ने र विकास नगर्ने प्रस्ट पार्दै आणविक अप्रसारसम्बन्धी अन्तर्राष्ट्रिय दायित्वहरूलाई पारदर्शी र दृढताका साथ पालना गर्ने जनाएको छ ।
मंगलवार राष्ट्रपति कार्यालयमा आयोजित मन्त्रिपरिषद् बैठकको अध्यक्षता गर्दै राष्ट्रपति ली जे म्युङले मुलुकको आत्मनिर्भर रक्षा क्षमता सुदृढ गर्न आणविक पनडुब्बी निर्माणको प्रक्रियालाई तिब्रता दिन निर्देशन दिएका छन् ।








