फ्रान्समा डढेलो लगाएको अभियोगमा ५९ जना पक्राउ

एजेन्सी । फ्रान्सका विभिन्न स्थानमा लागेको डढेलोका घटनामा संलग्न भएको आरोपमा प्रहरीले देशभरबाट ५९ जनालाई नियन्त्रणमा लिएको छ । फ्रान्सका आन्तरिक मामिला मन्त्री लरेन्ट नुनेजले सोमवार यसबारे जानकारी दिएका हुन् ।
फ्रान्सेली टेलिभिजन च्यानल ‘फ्रान्स २’ सँग कुराकानी गर्दै मन्त्री नुनेजले पेरिसको दक्षिण–पूर्वी क्षेत्रमा पर्ने सेइन–एट–मार्न विभागस्थित फोन्टेनब्लो वनमा ‘नियतवश वा दुर्घटनावश’ आगो लगाएको आशंकामा दुई जनालाई हिरासतमा लिइएको बताए ।
नियन्त्रणमा लिइएका कुल ५९ जनामध्ये ३० जना वयस्क र २९ जना नाबालिग रहेका छन् । फोन्टेनब्लो वनमा आईतवार साँझदेखि शुरु भएको डढेलो सोमवार पनि फैलिने क्रम जारी रहेको थियो । मन्त्री नुनेजकाअनुसार मुख्य डढेलोले करिव १,२०० हेक्टर वन क्षेत्र नष्ट गरिसकेको छ ।
त्यस्तै, सोमवार दिउँसो स्थानीय समयअनुसार ३ बजे मुख्य आगलागी भएको स्थानबाट ५ किलोमिटर टाढा अर्को डढेलो शुरु भएको र त्यसले करिब १०० हेक्टर क्षेत्र प्रभावित पारेको बताइएको छ ।
फ्रान्सको मौसम विभाग ‘मेटियो–फ्रान्स’ ले सोमवार सार्वजनिक गरेको प्रतिवेदनमा सप्ताहन्तदेखि तापक्रम निरन्तर बढिरहेको र साताको शुरुमा पनि यो क्रम कायमै रहेको उल्लेख छ । अत्यधिक गर्मी र सुख्खा माटोका कारण देशभर डढेलोको जोखिम उच्च रहेको चेतावनीसमेत विभागले दिएको छ ।
मन्त्री नुनेजले यस वर्षको सुरुदेखि हालसम्म फ्रान्समा ३२ हजार हेक्टर वन क्षेत्र डढेलोका कारण नष्ट भइसकेको जानकारी दिए । यो क्षति सन् २०२५ को सम्पूर्ण डढेलो सिजनमा भएको कुल क्षतिभन्दा पनि बढी हो ।








