विदेशी पर्यटकलाई निगरानी गर्न प्रवेश बिन्दुमै ‘युनिक आईडी’ दिनुपर्छ: पर्यटन विभाग

काठमाडौँ । पर्यटन विभागका महानिर्देशक रामकृष्ण लामिछानेले विदेशी पर्यटकको निगरानी तथा व्यवस्थापन कार्यलाई थप प्रभावकारी बनाउन पर्यटक प्रवेश बिन्दुमै ‘युनिक आईडी’ दिनुपर्ने बताएका छन् ।

मंगलवार विभागमा आयोजित ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणालीसम्बन्धी’ अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उक्त प्रणाली लागू भइसकेपछि विदेशी पर्यटक नेपालभित्र जहाँ गएपनि उनीहरूको गतिविधिसम्बन्धी विवरण अध्यागमन प्रणालीमार्फत ट्र्याक गर्न सहज हुने उनको भनाइ छ । महानिर्देशक लामिछानेले विदेशी पर्यटकको तथ्यांक र सूचनालाई व्यवस्थित तथा सुरक्षित ढंगले राख्ने अध्यागमन विभागको प्रयास प्रशंसनीय रहेको बताए ।

उनले सूचना व्यवस्थापन प्रणाली विकास गर्दा पर्यटकको गोपनीयता संरक्षणलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए । उनले सूचना संकलन प्रक्रिया सहज, छिटो र अतिरिक्त झन्झटबिना सञ्चालन हुने गरी प्रणालीको विकास गर्नुपर्ने बताए ।

उनले भने ‘विदेशबाट आउने पर्यटकहरूको तथ्यांक तथा सूचनाहरूलाई प्रभावकारी ढंगले व्यवस्थापन गर्ने जुन अध्यागमन विभागको प्रयास छ त्यो अत्यन्त प्रशंसनीय छ । हामी सबैको आपसी सहकार्यमा यो सम्भव भएको हो । अध्यागमन विभागले यसको नेतृत्व गरिरहेको छ । सूचना व्यवस्थापन प्रणालीमा हामीले कन्सियस हुँदै विकास गर्दै लैजानुपर्छ । सुरुमा हामीले पर्यटकको गोपनीयतामा ख्याल गर्नुपर्छ । त्यसको लागि हाम्रो सबै प्रणालीहरू प्रभावकारी हुन जरुरी छ । अर्को कुरा पर्यटकको सूचना सङ्कलनको लागि हामीले अतिरिक्त एफोर्ट गर्नु नपरोस् । सहज रूपमा तथ्यांक संकलन गर्न सहज होस् भन्ने कुरा हेर्नुपर्छ । यति कुरा गर्न सकियो भने यसले हामी सबैको ज्ञान सिप अभिवृद्धि गर्न सहयोग नै गर्छ भन्ने लाग्छ । पर्यटक आउँदाखेरि इमिगे्रसन पोइन्ट्सहरु हुन्छन् । त्यहाँ नै विदेशी पर्यटकलाई एउटा युनिक आइडी दिन सकिन्छ । त्यसपछि उसले जहाँ जे गरेपनि इमिगे्रसनमा उसको प्रोफाइल आउँछ र हामीलाई ट्र्याक गर्न सजिलो हुन्छ ।’

उनले पर्यटन प्रवर्द्धनको लागि पर्यटकीय पूर्वाधार विकासमा जोड दिनुपर्ने समेत बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + twelve =