सरकारले ल्याएको प्रस्ताव पर्याप्त छलफल नगरी पास गर्ने हो भने सांसदहरू संसदमा किन बस्ने ?- दुलाल

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले संसदमा विधेयक पारित गर्ने प्रक्रियामाथि प्रश्न उठाएका छन् ।
मंगलवार बसेको प्रतिनिधि सभाको बैठकमा उनले केही समयअघि विपक्षी दलको अवरोधकै बीच वैकल्पिक वित्त परिचालनसम्बन्धी विधेयक पारित भएको घोषणा गरिएको भन्दै असन्तुष्टि जनाएका हुन् ।
संसदमा विचार–विमर्श, तर्क–वितर्क र व्यापक छलफलपछि मात्रै दीर्घकालीन महत्वका विधेयक पारित हुनुपर्ने उनको भनाई छ । विधेयक पारित गर्न सत्तापक्षका सांसदले समेत आफ्नो योगदान दिन नपाएको उनले बताए । सरकारसँग बहुमत भएकै आधारमा सबै विधेयक जस्ताको त्यस्तै पारित गर्ने प्रवृत्तिलाई अन्त्य गर्न आवश्यक रहेको बताए ।
यदि सरकारले ल्याएको प्रस्ताव बहुमतकै भरमा पास गर्ने हो भने सांसदहरू संसदमा किन बस्ने ? उनको प्रश्न छ । सरकारले ल्याएका विधेयकलाई सभामुखले प्रमाणित गरेर राष्ट्रपति कहाँ पठाइदिए हुने उनको भनाई छ । उनले संसद नियमावलीका अन्य प्रावधान पालना नगर्दा विधेयक पारित गर्ने प्रक्रियामा मात्रै नियमको औपचारिकता देखाइएको आरोप लगाए ।
उनले भने ‘केही समयअघि संसदमा विपक्षीका अवरोधको बीचमा वैकल्पिक वित्त परिचालनसम्बन्धी विधेयक पारित भएको घोषणा गरियो । विधेयकहरू पारित गर्नलाई सत्तापक्षका माननीयले समेत आफ्नो योगदान गर्न पाउनुभएन । संसदमा विचार मन्थन भएर, तर्कवितर्क गरेर दूरगामी र गम्भीर महत्त्व राख्ने विधेयकहरू पारित गर्नुपर्ने हुन्छ । सरकारले जे ल्यायो, बहुमत छदैछ भन्ने नाममा सबै कुरा पारित गर्ने हो भने हामी भत्ता खाएर यो संसदमा किन बस्नुपर्यो ? बहुमत त छदैछ, सरकारले ल्याएपछि सभामुखले प्रमाणीकरण गरेर राष्ट्रपति कहाँ पठाइदिए भई हाल्छ । यो सबै प्रक्रिया किन पालना गर्नुपर्यो त ? यही नियमावलीमा लेखेका अन्य कुरा पालना गर्न नपर्दा विधेयक पासको लागी मात्रै यी प्रक्रियाहरू किन पालन गर्नुपर्यो ?’
उनले लोकतन्त्रमा बहुमत भन्ने विषय वास्तविक बहुमत नहुने बताए । उनले वर्तमान सरकारलाई समर्थन नगर्ने जनताको आधा हिस्सा रहेको पनि ख्याल राख्न पनि सुझाव दिए ।








