प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित

काठमाडौँ । प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले ‘पर्यटन विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गरी छलफल भइरहेका बेला विवाद उत्पन्न भएपछि बैठक स्थगित गरिएको हो ।
छलफलका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद जगदीश खरेलले सरकारले अध्यादेश ल्याउनु सही भएको दाबी गर्दै प्रतिपक्षी दलहरूले संसद्मा ‘तमासा’ देखाएको टिप्पणी गरेका थिए ।
प्रधानमन्त्री बालेन्द्र साहको जवाफ माग गर्दै विरोधमा उत्रिएका प्रतिपक्ष दलहरूले खरेलको अभिव्यक्तिप्रति झनै आक्रामक रूपमा विरोध जनाए । उक्त अभिव्यक्तिप्रति प्रतिपक्षी दलका सांसदहरूले आपत्ति जनाउँदै विरोध गरेपछि सदनमा तनावपूर्ण स्थिति सिर्जना भएको थियो ।
सांसद खरेलको भनाइलाई लिएर प्रतिपक्षी दलहरू थप आक्रोशित भएपछि सभामुख डोलप्रसाद अर्यालले बैठक १५ मिनेटका लागि स्थगित गर्ने घोषणा गरेका हुन् ।








