संविधान संशोधनका लागि सरकारले पूर्वप्रधानन्यायाधीशको नेतृत्वमा शक्तिशाली आयोग गठन गर्नुपर्छ: काँग्रेस

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले संविधान संशोधनका लागि पूर्वप्रधानन्यायाधीशको नेतृत्वमा शक्तिशाली सर्वपक्षीय आयोग गठन गर्न सरकारसँग माग गरेको छ ।

मंगलवार प्रतिनिधि सभा बैठकमा बोल्दै नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले सो माग गरेका हुन् ।

उनले सत्ता वरिपरिको बहसले मात्रै संविधान संशोधनको विषय मान्य नहुने स्पष्ट पार्दै विज्ञहरूसहित सम्मिलित पूर्वप्रधानन्यायाधीश नेतृत्वको शक्तिशाली आयोग गठन गरी राष्ट्रिय संवादका लागि गोलमेच सम्मेलन गर्नु अति आवश्यक भइसकेको जिकिर गरे । नेता केसीले संविधान संशोधनको बहस सरकारी कार्य दलमा मात्रै सीमित गर्न नहुने पनि उल्लेख गरे ।

उनले भने ‘संविधान संशोधनको बहस सरकारी कार्य दलमा मात्रै सीमित रहनु हुँदैन । यसका लागि पूर्व प्रधानन्यायाधीशको संयोजनमा संविधानविद्, राजनीतिक दल, प्रशासनिक विज्ञ, र नागरिक समाजका प्रतिनिधिहरू समावेश शक्तिशाली सर्वपक्षीय आयोग गठन गर्नु जरुरी छ । उक्त आयोगमार्फत राष्ट्रिय संवादका लागि गोलमेच सम्मेलन गर्नु अति आवश्यक भइसकेको छ। राष्ट्रिय जटिलता, द्वन्द्व र सामाजिक ध्रुवीकरणको सत्तावरीपरीको बहसले मात्रै संविधान संशोधन सफल हुँदैन । वृहत् राष्ट्रिय संवादबाट मात्रै यसले वैधता, जनविश्वास र साझा राष्ट्रिय सहमति निर्माण गर्न सक्छ ।’

नेता केसीले संविधानलाई सबैको साझा दस्ताबेज बनाउन पनि त्यसको बहसलाई राष्ट्रिय बहसको रूपमा अघि बढाउने काम गर्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − three =