त्रिभुवन विमानस्थलमा नेपाली उत्पादनको विक्रीलाई विशेष व्यवस्था गरियोस्- सांसद श्रेष्ठ

काठमाडौँ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद अनुश्का श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सबै पसलहरूमा अनिवार्य रूपमा नेपाल वस्तुहरूको विक्री वितरणका हुनेगरी आवश्यक व्यवस्था मिलाउन सरकारसँग माग गरेकी छन् ।

विमानस्थलबाट दैनिक हजारौँ यात्रुहरू नेपालबाट बाहिर जाने भएकाले उनीहरूलाई नेपाली स्वाद, नेपाली पहिचान विश्वभर दिलाउनका लागि पनि सरकारले नेपाली उद्यमीहरूले उत्पादन गरेका वस्तुहरूलाई त्यहाँ प्राथमिकताका साथ विक्रीका लागि राख्न आवश्यक हुने उनको तर्क थियो ।

मंगलवार प्रतिनिधि सभा बैठकमा शून्य समयमा बोल्दै सांसद श्रेष्ठले सरकारले घरेलु तथा साना उद्योग र स्वदेशी वस्तुहरूको प्रवर्द्धनका लागि उक्त विमानस्थललाई उपयोग गर्नुपर्नेमा पनि जोड दिइन् ।

सांसद श्रेष्ठले भनिन् ‘हाम्रो त्रिभुवन विमानस्थलमा नेपाल चिनाउने स्वाद, हस्तकला र मेड इन नेपालको उपस्थिति अझै कमजोर देखिन्छ । दैनिक हजारौँ यात्रु नेपालबाट प्रस्थान गरिरहँदा स्थानीय उत्पादनमा स्वाद बोकेर पठाउन सक्नु नेपालको पहिचान विश्वसामु पुर्याउने एक अवसर हो । म सरकार र टिआइए व्यवस्थालाई आग्रह गर्न चाहन्छु विमानस्थलका सबै पसल तथा टेन्डर प्रक्रियामा अनिवार्य रूपमा नेपाली उत्पादनका डेडिकेटेड सेक्सन व्यवस्था गरियोस् । विशेष गरी साना र स्वदेशी उद्यमीहरूलाई प्राथमिकता दिइयोस् । मेडइन नेपाललाई विश्वभर फैल्याउनका लागि यो कदम प्रभावकारी हुन सक्छ ।’

सांसद श्रेष्ठले नेपालको पहिचान विश्वमाझ चिनाउन पनि नेपाली वस्तुहरूको विश्व बजारमा पहुँच पुर्याउन आवश्यक रहेको बताइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + 11 =