भदौ २३-२४ मा भएको घटनाका कारण मन्त्रालयको बेरुजु व्यवस्थापन प्रभावित: गृहसचिव

काठमाडौँ । गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठले भदौ २३–२४ मा भएको घटनाका कारण मन्त्रालयको बेरुजु व्यवस्थापन प्रभावित भएको बताएका छन् ।

सार्वजनिक लेखा समितिको सोमवारको बैठकमा बोल्दै उनले उक्त घटनामा मन्त्रालय सबैभन्दा बढी प्रभावित भएको र धेरै कार्यालयका स्रेस्ता ९अभिलेख० जलेर नष्ट हुँदा लेखापरीक्षण तथा बेरुजु फर्स्यौट कार्यमा ढिलाइ भएको बताए ।

उनकाअनुसार हालसम्म ३६ वटा कार्यालयका स्रेस्ता नष्ट भएकाले लेखापरीक्षण गर्न नसकिएको अवस्था छ । सचिव श्रेष्ठले मन्त्रालयले तत्कालै केही महत्त्वपूर्ण कामहरू अघि बढाएको उल्लेख गर्दै पाँच प्रमुख बुँदामा कार्य प्रगति प्रस्तुत गरे । जलेर नष्ट भएका तथा अभिलेख नभएका बेरुजु सम्बन्धी विवरण महालेखा परीक्षकको कार्यालयसँग पुनः लगत भिडान गरेर नयाँ अभिलेख तयार गर्ने काम सुरु गरिएको उनले बताए ।

सचिव श्रेष्ठले भने ‘यो भाद्र २३–२४ को घटनाको सन्दर्भमा सबभन्दा बढी प्रभावित गृह मन्त्रालय पनि भएको, स्रेस्ताहरू पनि जलेको, काम–कारबाहीमा पनि धेरै समय हामी व्यवस्थापन गर्न लागेको हुँदा यो सन्दर्भमा हाम्रो त्यति ध्यान दिन नसक्ने अवस्थाले गर्दा पनि प्रगति हुन सकेको छैन । तैपनि अब ३६ वटा कार्यालयहरूको स्रेस्ता जलेको र लेखापरीक्षण हुन नसकेको अवस्था छ । तर हामीले अहिले तत्कालका लागि केही कामहरू गरेका छौँ । हामीले जलेर नष्ट भएको, बेरुजुको अभिलेख नभएको विषयहरूलाई महालेखा परीक्षकको कार्यालयबाट लगत भिडान गर्ने, बेरुजु कायम गर्ने कुरा सुरु गरिसकेका छौँ, पुनः लगत लिँदै छौँ ।’

नियमित गर्न सकिने बेरुजुहरूलाई टुंगो लगाउने र सम्भव नभएका बेरुजुहरूलाई कानूनअनुसार कुमारी चोक तथा केन्द्रीय तहसिल कार्यालयमा पठाउने प्रक्रिया अघि बढाइएको उनको भनाइ छ । मातहतका निकायहरूलाई लक्ष्यअनुसार बेरुजु फस्र्यौटलाई प्राथमिकतामा राख्न निर्देशनसहित पत्राचार गरिएको बताउँदै उनले असुलउपर गर्नुपर्ने स्पष्ट बेरुजुहरूका सम्बन्धमा पनि मन्त्रालयले आवश्यक प्रक्रिया अघि बढाएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − eight =