बालेनको युट्युब च्यानलमा पूर्वराजा ज्ञानेन्द्रको प्रशंसात्मक गीत, सञ्जालमा चर्चा

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को आधिकारिक युट्युब च्यानलमा पूर्वराजा ज्ञानेन्द्र शाहप्रति श्रद्धाभाव व्यक्त गरिएको गीत भेटिएपछि सामाजिक सञ्जालमा चर्चा सुरु भएको छ । ‘बालेन’ नामको युट्युब च्यानलमा “शिरमाथि नेपाल आमा” शीर्षकको गीत सन् २०२४ फेब्रुअरी २० मा अपलोड भएको देखिन्छ ।

गीतका शब्दमा “शिरमाथि नेपाल आमालाई, काँधमाथि ज्ञानेन्द्र राजालाई” जस्ता पंक्ति समावेश छन् । गीतमा पूर्वराजा ज्ञानेन्द्रलाई शान्तिकामी राजाको रूपमा चित्रण गरिएको छ ।

प्रधानमन्त्री बालेन शाहको युट्युब च्यानलमा यस्तो गीत देखिएपछि विभिन्न टिकाटिप्पणी हुन थालेका छन् । धेरै प्रयोगकर्ताले कमेन्टमार्फत राजसंस्था पुनर्स्थापनाको मागसमेत गरेका छन् ।

यद्यपि, उक्त गीतलाई बालेन शाहले व्यक्तिगत रूपमा सिर्जना गरेर अपलोड गरेको भन्ने स्पष्ट आधार भने छैन । प्रविधिसम्बन्धी जानकारहरूका अनुसार यो सामग्री युट्युबको “Releases” प्रणालीमार्फत स्वतः च्यानलमा देखिएको हुनसक्ने सम्भावना बढी छ ।

बालेन शाह संगीत क्षेत्रमा सक्रिय र्‍यापर, गीतकार तथा संगीत संयोजकका रूपमा पनि परिचित छन् । उनको युट्युब च्यानलले “Official Artist Channel” को मान्यता पाएको छ भने च्यानलमा १३ लाखभन्दा बढी सब्स्क्राइबर रहेका छन् ।

युट्युबले हाल “Releases” नामक विशेष ट्याबमार्फत कलाकारसँग सम्बन्धित आधिकारिक अडियो सामग्री स्वतः देखाउने प्रणाली सञ्चालन गरिरहेको छ । डिजिटल म्युजिक डिस्ट्रिब्युटरहरू (जस्तै TuneCore, DistroKid लगायत) मार्फत रिलिज गरिएका गीतमा कुनै कलाकारको नाम “Primary Artist” वा “Featured Artist” का रूपमा ट्याग भएमा ती सामग्री स्वतः सम्बन्धित कलाकारको च्यानलमा जोडिन सक्छन् ।

प्रविधि जानकारहरूका अनुसार एआईमार्फत सिर्जित वा असम्बन्धित सामग्रीमा समेत कलाकारको नाम मेटाडाटामा राखेर वितरण गरिँदा यस्ता गीतहरू स्वतः च्यानलमा देखिने समस्या बढ्दै गएको छ ।

युट्युबको प्रणालीअनुसार कलाकार वा च्यानल सञ्चालकले “YouTube Studio” मार्फत असम्बन्धित सामग्री हटाउन अनुरोध गर्न सक्ने व्यवस्था रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × two =