एमालेमा निर्वाचन र पार्टीको समग्र समीक्षा सुरु, शनिवार फेरि बस्ने

काठमाडौं । नेकपा (एमाले) को सचिवालय बैठकमा पार्टीको समग्र साङ्गठनिक अवस्था र गत निर्वाचनको समीक्षा सुरु भएको छ ।
शुक्रबार भक्तपुरको गुण्डुस्थित पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवासमा बसेको बैठकमा नेताहरूले पार्टीको आगामी कार्यदिशा र साङ्गठनिक सुदृढीकरणबारे आ–आफ्ना धारणा राखेका छन् ।
बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीका उपमहासचिव लेखराज भट्टले पाँच जना उपाध्यक्षहरूले आफ्नो धारणा राखेको जानकारी दिए ।
उनका अनुसार बैठक मुख्य रूपमा पार्टीको समग्र अवस्था र निर्वाचन समीक्षामा केन्द्रित रहेको छ । निर्वाचनको समीक्षा दुई पक्षबाट विश्लेषण गरेर अघि बढाइने तयारी गरिएको छ ।
उपमहासचिव भट्टले कार्यविभाजनको विषय भने आजको बैठकको एजेन्डामा प्रवेश नगरेको स्पष्ट पारे । ‘कार्यविभाजनको प्रस्तावमाथि आउने सुझावका आधारमा आवश्यक परे परिमार्जन वा संशोधन गरेर जान सकिन्छ,’ भट्टले भने ।
बैठकमा अध्यक्ष केपी शर्मा ओलीले छलफलमा आएका विषयमा सहजीकरण गरेको र नेताहरूले खुलेर तथा गम्भीर रूपमा धारणा राखेको उनले बताए ।
सचिवालयका बाँकी १२ सदस्यहरूले भोलिको बैठकमा धारणा राख्ने कार्यक्रम रहेको छ । अर्को बैठक शनिबार बिहान साढे ११ बजे पुनः अध्यक्ष ओलीकै निवासमा बस्ने गरी स्थगित गरिएको छ ।








