दर्ताबिनै सञ्चालन भइरहेका राइड शेयरिङ एपमाथि सरकारको निगरानी

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले मन्त्रालयअन्तर्गतका सबै कानुनलाई समयानुकूल बनाउने गरी गृहकार्य भइरहेको बताएका छन् ।
शुक्रबार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै मन्त्री तिमिल्सिनाले पुराना कानुनलाई वर्तमान आवश्यकताअनुसार सुधार गर्ने काम अघि बढाइएको जानकारी दिए ।
उनले खरिद प्रक्रियालाई समेत सरलीकृत गर्ने गरी मन्त्रालयले काम सुरु गरिसकेको बताए ।
त्यस्तै, दर्ताविनै सञ्चालन भइरहेका ड्राइभिङ तथा राइड–शेयरिङ एपहरूबारे सरकारले निगरानी गरिरहेको उल्लेख गर्दै ती सेवाहरूलाई कानुनी दायरामा ल्याउने तयारी भइरहेको उनले बताए ।
मन्त्री तिमिल्सिनाले सबै प्रकारका सवारी साधनलाई एपमार्फत व्यवस्थित रूपमा सञ्चालन गर्न सकिने विषयमा समेत अध्ययन भइरहेको जानकारी दिए ।
उनका अनुसार नेपालको डिजिटल रूपान्तरण (Digital Transformation) लाई तीव्र बनाउन स्टार्टअप कम्पनीहरूको विकास आवश्यक छ र डिजिटल अर्थतन्त्र विस्तार तथा नवप्रवर्तन प्रवर्द्धन सरकारको प्राथमिकतामा रहेको छ ।
‘सूचना तथा सञ्चार मन्त्रालयअन्तर्गतका कानुनहरू धेरै पुराना छन् । ती कानुनलाई समयसापेक्ष बनाउने काम भइरहेको छ,’ मन्त्री तिमिल्सिनाले भने, ‘खरिद प्रक्रिया सरलीकृत गर्ने काम पनि सुरु भइसकेको छ ।’
उनले दर्ताविनै सञ्चालन हुने एपहरूलाई कानुनी दायरामा ल्याउने र सबै सवारी साधनलाई एपमार्फत व्यवस्थित गर्ने दिशामा सरकार अघि बढिरहेको स्पष्ट पारे ।
मन्त्री तिमिल्सिनाले डिजिटल रूपान्तरणका लागि स्टार्टअप विकास अपरिहार्य रहेको उल्लेख गर्दै सरकार त्यसै दिशामा केन्द्रित रहेको बताए ।
त्यस्तै, नेपाल टेलिकम लगायतका सेवा प्रदायक संस्थामा भएका सुधारका नतिजा देखिन थालेको भन्दै उनले नागरिकलाई सेवा दिने बाहेक सरकारको कुनै अतिरिक्त उद्देश्य नरहेको स्पष्ट गरे ।
मन्त्रालयअन्तर्गतका परियोजनाहरूको अध्ययन तथा अनुगमन कार्य पनि निरन्तर भइरहेको उनले जानकारी दिए ।








