दक्षिण चीनको ग्वाङडोङमा भीषण वर्षाः १६ हजारभन्दा बढी मानिस सुरक्षित स्थानमा सारिए

एजेन्सी । चीनको दक्षिणी प्रान्त ग्वाङडोङमा बुधवारदेखि जारी भीषण वर्षाका कारण १६ हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ ।
प्रान्तीय अधिकारीहरूकाअनुसार बुधवार र बिहीवारको मुसलधारे वर्षाका कारण उत्पन्न बाढीको जोखिमलाई मध्यनजर गर्दै बिहीवार मध्याह्नसम्म १६ हजारभन्दा बढी नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको हो ।
वर्षाका कारण प्रान्तका विभिन्न क्षेत्रमा बाढी नियन्त्रणका लागि आपत्कालीन प्रतिकार्य संयन्त्रहरू सक्रिय पारिएका छन् । विशेषगरी याङ्जियाङ, जियाङमेन र झुहाई क्षेत्रमा अत्यधिक वर्षा रेकर्ड गरिएको छ। याङ्जियाङका दुईवटा जलविज्ञान केन्द्रहरूमा १ हजार मिलिमिटरभन्दा बढी वर्षा मापन गरिएको आधिकारिक तथ्याङ्कले देखाएको छ ।
नागरिकको जीउधनको रक्षालाई उच्च प्राथमिकता दिँदै ग्वाङडोङ प्रान्तीय प्रशासनले याङ्जियाङ र जियाङमेन लगायतका अति प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि आपत्कालीन टोलीहरू परिचालन गरेको छ । अधिकारीहरूले उद्धार कार्यलाई तीव्रता दिँदै थप जोखिम न्यूनीकरणका लागि हरसम्भव प्रयास भइरहेको जनाएका छन् ।








