क्युवा मामिलामा हस्तक्षेप गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको उद्घोष

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले क्युवाको सन्दर्भमा आफ्ना पूर्ववर्तीहरूले दशकौँदेखि सोच्दै आएको हस्तक्षेपकारी कदम अब आफूले चाल्ने बताएका छन् ।

बिहीवार आयोजित एक कार्यक्रममा बोल्दै ट्रम्पले क्युबामा परिवर्तन ल्याउन आफू तयार रहेको र यसबाट अमेरिकामा रहेका क्युवाली मूलका नागरिकहरूलाई आफ्नो देश फर्कन र त्यहाँको पुनर्संरचनामा सहयोग गर्न सहज हुने विश्वास व्यक्त गरे ।

राष्ट्रपति ट्रम्पले भने, ‘विगत ५०–६० वर्षदेखि अन्य राष्ट्रपतिहरूले यस विषयमा केही गर्ने सोच बनाएका थिए, तर अब त्यो काम मैले नै गर्ने देखिएको छ । म यो कदम चाल्न पाउँदा खुशी हुनेछु । हामी क्युवाली–अमेरिकीहरूका लागि बाटो खोल्न चाहन्छौँ, ताकि उनीहरू फर्किएर सहयोग गर्न सकून् ।’

यसैबीच, अमेरिकी विदेशमन्त्री मार्को रुबियोले क्युबासँग तत्काल कुनैपनि वार्ता वा सहमतिको सम्भावना न्युन रहेको स्पष्ट पारे । वर्तमान परिस्थितिमा क्युवाली सरकारसँग कुटनीतिक सम्झौता हुने ठोस आधार नदेखिएको उनको भनाइ छ ।

अमेरिकाले पछिल्लो समय क्युवामाथि चौतर्फी दबाब बढाउँदै लगेको छ । करिव ३० वर्षअघि क्युवाली सेनाद्वारा दुईवटा विमान खसालिएको घटनालाई लिएर अमेरिकाले हालै क्युवाली क्रान्तिका नेता राउल क्यास्ट्रोविरुद्ध औपचारिक अभियोग दर्ता गरेको छ । यसका साथै, अमेरिकी नौसेनाले क्यारिबियन क्षेत्रमा ‘निमिट्ज क्यारियर स्ट्राइक ग्रुप’ तैनाथ गरेको छ, जसलाई क्युबाविरुद्धको कडा रणनीतिक दबाबका रूपमा विश्लेषण गरिएको छ ।

यता क्युवाका राष्ट्रपति मिगुएल डियाज–कानेलले अमेरिकी कदमको कडा प्रतिवाद गर्नुभएको छ । बुधवार एक वक्तव्य जारी गर्दै उनले क्यास्ट्रोविरुद्धको अभियोगलाई कानूनी आधार नभएको ‘राजनीतिक दाउपेच’ को संज्ञा दिए । डियाज–कानेलले वासिङ्टनले ‘ब्रदर्स टु द रेस्क्यु’ नामक संस्थाका विमानहरू खसालिएको घटनालाई लिएर झूटो विवरण फैलाएको र तथ्य तोडमरोड गरेको आरोप लगाए ।

राष्ट्रपति डियाज–कानेलले अमेरिकालाई चेतावनी दिँदै क्युबामाथि गरिने कुनैपनि सैन्य आक्रमणले ‘भीषण रक्तपात’ निम्त्याउने र त्यसको परिणाम कल्पनाबाहिर हुने बताए । उनले यस्तो सैन्य हस्तक्षेपले ल्याटिन अमेरिका र क्यारिबियन क्षेत्रको शान्ति र स्थिरतामा अपूरणीय क्षति पुर्याउने चेतावनीसमेत दिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 2 =