पोल्याण्डमा थप ५ हजार अमेरिकी सैनिक पठाउने राष्ट्रपति ट्रम्पको घोषणा

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पोल्याण्डमा थप ५ हजार अमेरिकी सैनिक पठाउने घोषणा गरेका छन् । बिहीवार आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसियलमार्फत उहाँले यससम्बन्धी जानकारी दिएका हुन् ।

आफूले समर्थन गरेका क्यारोल नावरोकी पोल्याण्डको राष्ट्रपतिमा निर्वाचित भएको र उनीसँगको सुमधुर सम्बन्धका कारण थप सैनिक परिचालन गर्ने निर्णय लिएको राष्ट्रपति ट्रम्पले उल्लेख गरेका छन् ।

उनले भने, ‘राष्ट्रपति नावरोकीको सफल निर्वाचन र उनीसँगको हाम्रो सम्बन्धका आधारमा पोल्याण्डमा थप ५,००० अमेरिकी सैनिक पठाउने घोषणा गर्न पाउँदा म खुशी छु।’
यद्यपि, यो परिचालनको विस्तृत समयतालिकाबारे उनले थप खुलाएका छैनन् ।

अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन) ले पोल्याण्डमा ४ हजार भन्दा बढी सैनिक पठाउने पूर्वयोजनालाई अचानक स्थगित गरेको एक सातापछि राष्ट्रपतिको यो भनाइ सार्वजनिक भएको हो । गत मंगलवार मात्र पेन्टागनले युरोपमा तैनाथ अमेरिकी ‘ब्रिगेड कम्ब्याट’ टोलीको संख्या चारबाट घटाएर तीनमा पुर्याउने र सैनिक संख्यालाई सन् २०२१ को स्तरमा फर्काउने निर्णय गरेको थियो ।

पेन्टागनले एक विज्ञप्ति जारी गर्दै पोल्याण्डलाई अमेरिकाको ‘नमूना सहयोगी’ राष्ट्रको रूपमा चित्रण गरेको छ । सेनाको संगठनात्मक संरचनामा गरिएको परिवर्तनका कारण पोल्याण्डमा हुने सैनिक परिचालनमा केही प्राविधिक ढिलाइ भएको मन्त्रालयको स्पष्टोक्ति थियो ।

हाल युरोपभर करिब ८० हजार अमेरिकी सैनिक तैनाथ छन्, जसमध्ये करिव १० हजार सैनिक पोल्याण्डमा कार्यरत रहेको सञ्चारमाध्यमहरूले जनाएका छन् । यसैबीच, पेन्टागनले आगामी ६ देखि १२ महिनाभित्र जर्मनीबाट भने करिब ५ हजार सैनिक फिर्ता बोलाउने तयारी गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × four =