फ्रेन्चाइज लिगले खेलकुद विकासमा महत्वपूर्ण भुमिका निभाउँछः मन्त्री पोखरेल

काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नेपाल सुपर लिग (एनएसएल)को आयोजनाले नेपाली फुटबललाई नयाँ उचाइमा लैजाने आशा व्यक्त गरेका छन् ।
आइतबार झम्सिखेलमा आयोजित एनएसएलको आगामी संस्करण घोषणा कार्यक्रममा बोल्दै उनले फ्रेन्चाइज लिगहरूले खेलकुद विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए ।
मन्त्री पोखरेलले यसअघि नेपाल प्रिमियर लिग (एनपीएल)ले नेपाली क्रिकेटको विकासमा सकारात्मक योगदान दिएको उल्लेख गर्दै एनएसएल पनि त्यस्तै प्रभावकारी माध्यम बन्न सक्ने धारणा राखे ।
उनका अनुसार नेपालमा अहिलेसम्म खेलकुद क्षेत्रमा निजी क्षेत्रको पर्याप्त सहभागिता हुन सकेको छैन । तर फ्रेन्चाइज लिगहरूले कर्पोरेट क्षेत्रलाई खेलकुदसँग जोड्न थालेकोमा उनले यसलाई सकारात्मक विकास भनेका छन् । ‘खेलकुद विकासमा निजी क्षेत्रको सहभागिता अपरिहार्य छ,’ उनले भने, ‘सरकार पनि निजी क्षेत्रसँगै अघि बढ्छ ।’
मन्त्री पोखरेलले खेलकुदभित्र राजनीतिक हस्तक्षेप नगरी सरकार अघि बढ्ने स्पष्ट पारे । उनले खेलकुदमा लगानी वृद्धि गर्दै ग्रासरुट स्तरबाट खेलाडी उत्पादनमा जोड दिनुपर्ने बताए ।
उनका अनुसार शिक्षा र खेलकुदलाई एकै संरचनामा अघि बढाएर विद्यालय स्तरबाटै खेलाडी उत्पादन गर्न सकिन्छ । नेपालमा रहेका करिब २७ हजार विद्यालयलाई लक्षित गर्दै त्यहाँ लगानी बढाउनुपर्ने उनको भनाइ छ ।
‘नेपालका भविष्यका खेलाडी विद्यालयमै छन्,’ उनले भने, ‘त्यसैले त्यहीँबाट लगानी र प्रशिक्षण सुरु गर्नुपर्छ ।’ मन्त्री पोखरेलले पाठ्यक्रममै खेलकुद विषय समावेश गर्न सरकारले कार्यदलमार्फत काम अघि बढाइरहेको जानकारी दिए ।
उनले नेपाली सेनाको नेपाल सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाल मा खेलाडी उत्पादन राम्रो हुनुको कारण त्यहाँको व्यवस्थित आहार र प्रशिक्षण प्रणाली भएको बताए ।
उनका अनुसार त्यस्तै संरचना विद्यालय स्तरमै विकास गर्न सके आगामी १०–१५ वर्षमा नेपाली खेलकुदमा उल्लेखनीय सुधार सम्भव छ । मन्त्री पोखरेलले अखिल नेपाल फुटबल संघ लगायत सबै सरोकारवालालाई मिलेर नेपाली फुटबललाई अघि बढाउन आग्रह पनि गरे ।








