खाद्य सुरक्षा र निर्यात प्रवर्द्धनका लागि म्यानमारद्वारा ‘असल कृषि अभ्यास’ मा जोड

एजेन्सी । म्यानमारले कृषि उत्पादनको सुरक्षा सुनिश्चित गर्न र अन्तर्राष्ट्रिय निर्यात मापदण्डलाई सुदृढ बनाउन ‘असल कृषि अभ्यास’ (जीएपी) प्रणालीलाई तीव्रता दिएको छ ।
याङ्गुनमा आयोजित जीएपी प्रमाणपत्र वितरण समारोहमा युनियन अफ म्यानमार फेडेरेसन अफ चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्री (यूएमएफसीसीआई) का उपाध्यक्ष उ ये मिन आङले यसबारे जानकारी दिएका हुन् ।
उपाध्यक्ष आङकाअनुसार म्यानमारमा जीएपी प्रणाली विगत १० वर्षदेखि प्रचलनमा रहे पनि पछिल्लो समय अन्तर्राष्ट्रिय व्यापारमा खाद्य सुरक्षाको महत्त्व बढेसँगै यसको आवश्यकता अपरिहार्य बनेको छ ।
कृषि विभागले जारी गर्ने यस्ता प्रमाणपत्रहरू कृषकहरूको हितका लागि लक्षित रहेको बताउँदै उनले निर्यातकर्ता कम्पनी, कृषक र सरकारबीचको सहकार्य सुदृढ भएमा कृषि निर्यातलाई दोब्बर बनाउनुका साथै किसानको आम्दानीमा उल्लेख्य वृद्धि गर्न सकिने विश्वास व्यक्त गरे ।
म्यानमारको कृषि निर्यातमा धानपछि गेडागुडीको हिस्सा दोस्रो ठूलो छ, जसले कुल खेतीयोग्य जमिनको करिब २० प्रतिशत ओगटेको छ । त्यसमध्ये हरियो मुगीको दाल (ग्रिन मुङ बिन्स) निर्यातका लागि सबैभन्दा बढी सम्भावना बोकेको बाली मानिन्छ । वैदेशिक मुद्रा आर्जनको मुख्य स्रोत रहेकाले हाल हरियो मुगीको खेतीमा जीएपी प्रणालीलाई विशेष प्राथमिकताका साथ प्रवद्र्धन गरिँदैछ ।
जीएपी प्रणाली अपनाएका कृषकहरूकाअनुसार यो पद्धतिले खाद्य सुरक्षा र जनस्वास्थ्यमा सकारात्मक प्रभाव पारेको छ । विषादीको अनावश्यक प्रयोग नियन्त्रण हुँदा र हानिकारक रासायनिक अवशेषहरू कम हुँदा उपभोक्ताले स्वस्थकर खाद्यान्न पाउने र अन्तर्राष्ट्रिय बजारमा उत्पादनको माग समेत बढ्ने कृषकहरूको अनुभव छ ।
हाल केही निर्यातकर्ता कम्पनीहरूले जीएपी संरचना अन्तर्गत ‘करार खेती’ (कन्ट्रयाक्ट फार्मिङ) प्रणालीसमेत लागू गरेका छन् । यसबाट किसानहरूले प्राविधिक सहयोग, गुणस्तरको सुनिश्चितता र स्थिर बजार पहुँचका साथै राम्रो आम्दानी प्राप्त गरिरहेका छन् ।
म्यानमारबाट जीएपी प्रमाणित मुगीको दाल हाल चीन, इन्डोनेसिया, भियतनाम, जापान र विभिन्न युरोपेली मुलुकहरूमा निर्यात भइरहेको छ । आर्थिक वर्ष २०२५–२०२६ का लागि म्यानमारले ४ लाख मेट्रिक टनभन्दा बढी मुगीको दाल निर्यात गरी करिव ५० करोड अमेरिकी डलर वैदेशिक मुद्रा आर्जन गर्ने लक्ष्य राखेको छ ।








