एसईई दिएका विद्यार्थीलाई रास्वपा सांसद केपी खनालको छात्रवृत्ति घोषणा

काठमाडौं । रास्वपा सांसद केपी खनालले एसईई उत्तीर्ण गरेका विद्यार्थीहरूका लागि छात्रवृत्ति कार्यक्रम घोषणा गरेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य खनालले आफ्नो निर्वाचन क्षेत्रका गरिब, जेहेनदार तथा विपन्न परिवारका विद्यार्थीहरूलाई लक्षित गर्दै ‘एमपी स्कलरसिप प्रोग्राम’ सार्वजनिक गरेका हुन् ।
‘५५ विद्यार्थी, ५५ सपना’ शीर्षकमा ल्याइएको कार्यक्रमअन्तर्गत ५५ जना विद्यार्थीलाई पूर्ण छात्रवृत्ति प्रदान गरिने जनाइएको छ ।
सामाजिक सञ्जालमार्फत जानकारी दिँदै खनालले निर्वाचनका क्रममा अभिभावकहरूले आफूलाई देखाएको विश्वास र आशालाई व्यवहारमा रूपान्तरण गर्ने प्रयासस्वरूप छात्रवृत्ति कार्यक्रम ल्याइएको बताएका छन् ।
कार्यक्रममा सहभागी हुन इच्छुक विद्यार्थीहरूलाई अनलाइन फारम भर्न आग्रह गरिएको छ । उनले आफू बसोबास गरिरहेको स्थान नजिकको पालिका केन्द्र छनोट गर्न अनुरोध गर्दै बाँकी प्रक्रिया र विस्तृत जानकारी भिडियो सन्देशमार्फत सार्वजनिक गरिने बताएका छन् ।
खनालले शिक्षा क्षेत्रमा पहुँच अभिवृद्धि र आर्थिक अभावका कारण अध्ययनबाट वञ्चित हुनसक्ने विद्यार्थीलाई सहयोग गर्ने उद्देश्यले कार्यक्रम ल्याइएको उल्लेख गरेका छन् ।








