आजदेखि बृहस्पति अस्त, शास्त्रीय आधारमा काम्य कर्म गर्न निषेध

काठमाडौं । बृहस्पति (गुरु) आजदेखि अस्त भएकाले नित्य र नैमित्तिकबाहेकका काम्य कर्म गर्न नमिल्ने शास्त्रीय वचन रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

असार ३२ गते आज अपराह्न १२ः५५ बजे पश्चिममा अस्त भएका गुरु आगामी साउन २४ गते आइतबार १२ः२४ बजे पूर्वमा उदाउने समितिका अध्यक्ष सहप्राडा पुरुषोत्तम भट्टराईले जानकारी दिए । उनका अनुसार बृहस्पति र शुक्र अस्त भएका बेला नित्य र नैमित्तिक कर्ममात्र गर्नु हुने, कुनै कामना लिएर गरिने कर्म गर्न नहुने शास्त्रीय मान्यता छ ।

गुरु, शुक्र अस्तमा नित्य रुपमा गरिने स्नान, पाञ्चायन पूजा, दिवङ्गत हुनेको नाममा गरिने काजकिरिया, बच्चा जन्मनेको जातकर्ममात्र गर्नुहुने विभिन्न शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ । बृहस्पति र शुक्र अस्त हुँदा गरिएका कर्मले ब्राह्मणलाई दक्षिणा प्राप्त होला तर कर्ता (यजमान) लाई फल प्राप्त हुँदैन, बृहस्पति र शुक्र ग्रह बाल र वृद्ध हुँदा पनि काम्य कर्म अर्थात् कुनै कामनाले गरिने कर्म गर्न नहुने धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले बताए ।

यी दुवै ग्रह अस्त हुनु तीन दिनअघिदेखि उदय भएको तीन दिनपछिसम्म पनि कुनै कामना लिएर गरिने कर्म शास्त्रीय नहुने उनको भनाइ छ । यी दुई ग्रह अस्त भएका बेला दान, महादान, गोदान, धान्य पर्वत दान, गृहारम्भ, गृहप्रवेश, लाखबत्ती बाल्ने, सप्ताह, नवाह, सत्यनारायण पूजा, रुद्रीपूजालगायत कर्म गर्नुहुँदैन । बृहस्पति र शुक्र अस्त भएकैले यस वर्ष माघ, फागुन र चैतमा विवाह एवं व्रतबन्धका लग्नसमेत छैनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 2 =