दक्षिण कोरियाः पूर्वराष्ट्रपति युनकी पत्नीलाई साढे सात वर्ष जेल सजायको माग

काठमाडौं । दक्षिण कोरियाका विशेष अभियोजनकर्ताले शुक्रवार पूर्वराष्ट्रपति युन सुक–योलकी पत्नी किम केओन–हीलाई भ्रष्टाचार र सरकारी पदको दुरुपयोग गरेको आरोपमा साढे सात वर्षको जेल सजाय माग गरेका छन् ।

पूर्वराष्ट्रपतिको दम्पती संलग्न भ्रष्टाचार प्रकरणको अनुसन्धान गरिरहेको स्वतन्त्र काउन्सिल मिन जुङ–की नेतृत्वको टोलीले सियोल केन्द्रिय जिल्ला अदालतसमक्ष किमलाई सात वर्ष ६ महिनाको कारावास सजाय तोक्न माग गरेको हो। किममाथि महँगा गहना, महँगो चित्रकला र डिजाइनर ब्यागको बदलामा सरकारी पदहरू उपलब्ध गराएको (विक्री गरेको) आरोप लगाइएको छ ।

अभियोग पत्रकाअनुसार किमले सन् २०२२ को मार्चदेखि मे महिनाको बीचमा एक व्यवसायीका जेठा ज्वाइँलाई सरकारी पदमा नियुक्त गराइदिए बापत ती व्यवसायीबाट हार, ब्रोच र झुम्का लिएकी थिइन् ।

त्यसैगरी, सन् २०२२ को अप्रिलमा राष्ट्रिय शिक्षा आयोगका पूर्व प्रमुखबाट नियुक्ति गरिदिने शर्तमा ‘सुनको कछुवा’ र सोही वर्षको सेप्टेम्बरमा एक रोबोट डग उद्यमीलाई व्यावसायिक लाभ दिलाउने आश्वासन दिँदै घडी उपहार लिएको दाबी गरिएको छ ।

अन्य आरोपहरूमा सन् २०२२ को जुनदेखि सेप्टेम्बरको बीचमा एक पादरीबाट महँगो डिजाइनर ब्याग र सन् २०२३ को फेब्रुअरीमा एक पूर्व सरकारी वकिलबाट मनोनयनको सिफारिस गरिदिए बापत चित्रकला प्राप्त गरेको विषयहरू समावेश छन् ।

सन् २०२५ को अगस्टमा हिरासतमा लिई अभियोग दर्ता गरिएकी किम दक्षिण कोरियाको इतिहासमा थुनामा राखेर मुद्दा चलाइएकी पहिलो पूर्वप्रथम महिला हुन् ।

यसैबीच, पूर्वराष्ट्रपति युन सुक–योललाई सन् २०२४ को डिसेम्बरमा सैन्य शासन (मार्सल ल) घोषणा गरी राज्यद्रोह गरेको अभियोगमा गत फेब्रुअरीमा आजीवन कारावासको सजाय सुनाइएको थियो ।

राज्यद्रोहको मुख्य योजनाकार रहेको आशंकामा सन् २०२५ को जनवरीमा उनी पदमै बहाल रहेको अवस्थामा पक्राउ गरी अभियोग दर्ता गरिएको थियो। उनी बहालवाला पदमै रहँदा पक्राउ पर्ने र अभियोग सामना गर्ने दक्षिण कोरियाको पहिलो राष्ट्रपति हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − eight =