युवा खेलाडीको क्षमता विकासका लागि थ्री अन थ्री फुटबल क्लिनिक हुँदै

काठमाडौं । फुटबलको विकास, विस्तार तथा युवा खेलाडीहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यसहित ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप २०२६’ आयोजना हुने भएको छ ।

टिपटो स्पोर्ट्स एकेडेमीको आयोजनामा आगामी जेठ २ र ३ गते तारकेश्वरस्थित शेषमतीको टिपटो स्पोर्ट्स हबमा क्लिनिकसँगै च्याम्पियनसिप सञ्चालन हुने भएको हो ।

आयोजकले शुक्रबार त्रिपुरेश्वरस्थित नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) मा पत्रकार सम्मेलन गर्दै कार्यक्रमबारे जानकारी दिएको हो ।

कार्यक्रमका लागि जापानको थ्री अन थ्री राष्ट्रिय फुटबल टोलीका सदस्य यासुहिरो नाबेटा पनि नेपाल आएका छन् । उनी बुधबार नै नेपाल आइपुगेका हुन् । उनले क्लिनिकमा खेलाडीहरूलाई प्रशिक्षण दिने आयोजकले जनाएको छ ।

टिपटो स्पोर्ट्स हबका अध्यक्ष गौरव बस्नेतले यो फरम्याटले ग्रासरुटदेखि व्यावसायिक फुटबलसम्मको विकासमा सहयोग पुर्‍याउने बताए । उनले थ्री अन थ्री फुटबललाई फिफाले समेत अघि बढाइरहेको उल्लेख गर्दै धेरै देशमा यसको लोकप्रियता बढ्दै गएको बताए । उनले भने, ‘थ्री अन थ्री फुटबलले छोटो समयमा खेलाडीको क्षमता र कला विकास गर्न मद्दत गर्छ ।’

जापानी प्रशिक्षक यासुहिरो नाबेटाले पनि यो शैलीको फुटबलले ग्रासरुट स्तरबाटै खेलाडी विकासमा सहयोग पुग्ने बताए । उनले ब्राजिलका धेरै चर्चित खेलाडी सडक फुटबलबाटै उदाएको उदाहरण दिँदै यो विधाले तीव्र रूपमा कौशल विकास गराउने बताए ।

क्लिनिक जेठ २ गते बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन हुनेछ भने च्याम्पियनसिप जेठ ३ गते बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म हुने आयोजकले जनाएको छ ।

कार्यक्रममा देशभरका विभिन्न एकेडेमी र विद्यालयबाट यु–१२, यु–१४ र यु–१६ उमेर समूहका करिब १५० खेलाडीको सहभागिता रहनेछ । च्याम्पियनसिपमा यु–१४ र यु–१६ समूहका ३२ टोली सहभागी हुनेछन् ।

प्रतियोगिता नकआउट प्रणालीमा सञ्चालन हुनेछ । उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई प्रमाणपत्र, मेडल र ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ ।

सन् २०२१ मा स्थापना भएको टिपटो स्पोर्ट्स एकेडेमीले प्रशिक्षण, प्रतियोगिता तथा सामाजिक गतिविधिमार्फत नेपाली फुटबल विकासमा योगदान दिँदै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + three =