नीति तथा कार्यक्रममा समाजवाद उन्मुख स्पष्ट राजनीतिक दृष्टिकोण हुनुपर्छ: युवराज दुलाल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका मुख्य सचेतक युवराज दुलालले सरकारले ल्याउने नीति तथा कार्यक्रम संविधानको मर्मअनुसार समाजवाद उन्मुख अर्थतन्त्रको स्पष्ट राजनीतिक गन्तव्य बोकेको हुनुपर्ने बताएका छन् ।

सम्बोधनका क्रममा दुलालले सुशासन, सार्वजनिक सेवा प्रवाह र समन्यायिक वितरणमार्फत समृद्ध राष्ट्र निर्माण गर्ने सरकारको लक्ष्य सकारात्मक भए पनि त्यसको वैचारिक आधार र कार्यक्रमिक स्पष्टता कमजोर रहेको टिप्पणी गरे ।

उनले संविधानले निर्देशित गरेको समानुपातिक र समावेशी सिद्धान्तमा आधारित समतामूलक समाज निर्माणको प्रतिबद्धता नीति तथा कार्यक्रममा पर्याप्त रूपमा प्रतिबिम्बित नभएको बताए ।

सरकारले आगामी १० वर्षमा ३० हजार मेगावाट विद्युत उत्पादन गर्ने तथा औसत ७ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखे पनि ती लक्ष्य पूरा गर्ने ठोस आधार नदेखिएको दुलालको भनाइ थियो ।

दुलालले मुलुकको वन क्षेत्र र खनिज सम्पदाको उपयोगमा सरकार गम्भीर नभएको भन्दै ध्यानाकर्षण गराए। उनले कार्बन ट्रेडिङ जस्ता बाह्य अवधारणाभन्दा स्वदेशमा रहेका युरेनियम, ग्रेनाइट, मार्बल, फलाम तथा पेट्रोलियमजस्ता खनिज स्रोतको उत्खनन र उपयोगमार्फत राष्ट्रिय अर्थतन्त्र मजबुत बनाउन सकिने तर्क गरे ।

उनले आन्तरिक उत्पादन र निर्यातलाई प्राथमिकता नदिई स्थिर अर्थतन्त्र निर्माण सम्भव नहुने दाबी गरे । दुलालले भने, “यी नारालाई सहयोग गर्ने विषयगत कार्यक्रम पर्याप्त छैनन् । सामान्य कानुनी र संरचनागत सुधारले मात्रै यति ठूला लक्ष्य हासिल गर्न सम्भव हुँदैन ।”

कृषि क्षेत्रमा बाँदर र बँदेलजस्ता वन्यजन्तुले पुर्‍याउने क्षतिको क्षतिपूर्ति र बीमाको व्यवस्था गर्नुपर्ने माग पनि उनले गरे। यस्ता वन्यजन्तु नियन्त्रणका लागि कानुनी व्यवस्था गरी किसानलाई खेतीतर्फ प्रोत्साहित गर्नुपर्ने उनको प्रस्ताव थियो ।

त्यस्तै, सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउन संविधानअनुसार प्रदेश सरकारलाई शान्ति सुरक्षाको जिम्मेवारी दिन तत्काल ‘प्रदेश प्रहरी समायोजन’ प्रक्रिया अघि बढाउनुपर्नेमा उनले जोड दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × two =