ऊर्जा विकासका लागि दशक घोषणा गरी अघि बढ्नुपर्छः सांसद न्यौपाने

काठमाडौं । सांसद ई. श्रीराम न्यौपानेले आगामी १० वर्षभित्र ३० हजार मेगावाट विद्युत उत्पादन गर्ने राष्ट्रिय संकल्पलाई सफल बनाउन ऊर्जा दशक घोषणा गरेर अघि बढ्नुपर्ने बताएका छन् ।

इप्पानले आयोजना गरेको एक कार्यक्रममा उनले अहिले शक्तिशाली सरकार बनेको र राजनीतिक इच्छाशक्ति पनि बलियो रहेको बताउँदै उनले ५ वर्षभित्र ऊर्जामा आत्मनिर्भर नेपाल बनाउन र १० वर्षभित्र ऊर्जा निर्यातकर्ता राष्ट्रका रूपमा नेपाललाई स्थापित गर्न सम्भव रहेको बताए ।

उनकाअनुसार यसका लागि दशक घोषणा गरेर अघि बढ्नुपर्छ । एक दशकलाई ‘ऊर्जा विकास दशक’ घोषणा गरी १० वर्षका लागि ‘सनसेट ल’ लागू गर्ने प्रयास वर्तमान सरकारले गरिरहेको समेत बताए ।

सांसद न्यौपानेले नेपालमा पानी, घाम र हावाबाट मात्रै डेढ लाख मेगावाटसम्म हरित ऊर्जा उत्पादन गर्न सकिने सम्भावना अध्ययन तथा अनुसन्धानले पुष्टि गरिसकेको उल्लेख गर्दै अहिले पनि देशले पेट्रोलियम पदार्थ आयातमा झन्डै ३ खर्ब रुपैयाँ खर्च गरिरहेको बताए ।

न्यौपानेकाअनुसार अब नेपाल भाषणले होइन, ऊर्जा क्रान्तिले बन्नुपर्छ । प्रत्येक नेपालीको घरमा विद्युतीय भान्सा, प्रत्येक खेतमा विद्युतीय सिँचाइ र प्रत्येक सहरलाई ईभी–मैत्री बनाउनुपर्छ ।

साथै उद्योगहरूलाई सस्तो र भरपर्दो बिजुली उपलब्ध गराउनुपर्ने तथा अतिरिक्त विद्युतबाट ग्रीन हाइड्रोजन उत्पादनतर्फ जानुपर्ने उनको भनाइ छ ।

सांसद् न्यौपानेले भने, ‘आगामी १० वर्षमा ३० हजार मेगावाट ऊर्जा उत्पादन गर्ने वृहत राष्ट्रिय संकल्प अहिलेको शक्तिशाली सरकारले अगाडि सारेको छ । पानी, घाम र हावाबाट मात्रै नेपालले डेढ लाख मेगावाट हरित ऊर्जा उत्पादन गर्न सक्ने सम्भावना देखिएको छ । अध्ययन र अनुसन्धानले पुष्टि गरिसकेको विषय हो तर बिडम्बना, हाम्रो पानी बगिरहेको छ, युवा विदेश गइरहेका छन्, उद्योग बन्द भइरहेका छन् र हामी अझै पेट्रोलियम आयातमै अरबौं रुपैयाँ खर्च गरिराखेका छौँ । अब यो अवस्था बदल्नुपर्छ । नेपाल भाषणले हैन, ऊर्जा क्रान्तिले बन्नुपर्छ । म स्पष्ट रूपमा भन्न चाहन्छु अब प्रत्येक नेपालीको घरमा विद्युतीय भान्सा हुनुपर्छ, प्रत्येक खेतमा विद्युतीय सिंचाई हुनुपर्छ, प्रत्येक सहर ईभी–मैत्री हुनुपर्छ, उद्योगलाई सस्तो र भरपर्दो बिजुली दिनुपर्छ, अतिरिक्त बिजुलीबाट ग्रीन हाइड्रोजन उत्पादन गर्नुपर्छ । यदि बिजुली उत्पादन भयो भने उद्योग खुल्छन् । त्यो विकास होइन, केवल आँकडामा सीमित रहनेछ। एक दशकलाई ऊर्जा विकास दशक घोषणा गरी १० वर्षका लागि सनसेट ल ल्याएर ऊर्जा उत्पादनसँगै ऊर्जा खपतलाई राष्ट्रिय अभियान बनाउनुपर्छ ।

ऊर्जा क्षेत्रलाई प्रशासनिक झन्झट र राजनीतिक हस्तक्षेपको बन्दी बनाउदैनन् । निजी क्षेत्रलाई खुला प्रतिष्पर्धा दिइनुपर्छ । एकद्वार प्रणाली लागू गर्नुपर्छ । प्रसारण लाइन निर्माणलाई राष्ट्रिय प्राथमिकताको क्षेत्रमा राखिनुपर्छ । ऊर्जा क्षेत्रको सुरक्षाको ग्यारेन्टी सरकारले लिनेछ भनेर वाचापत्रमा पनि उल्लेख गरिसकिएको छ । अब नेपाल विद्युत् प्राधिकरणको एकाधिकारलाई प्रतिष्पर्धात्मक ऊर्जा बजारतर्फ लानैपर्छ । बैंक, एनआरएन र विभिन्न कोषहरूको लगानी ऊर्जा क्षेत्रमा केन्द्रित गरी राज्यका सबै निकाय ऊर्जा अभियानमा जोडिनैपर्छ । युवालाई विदेश होइन, नेपालमै रोजगारी दिने कार्यक्रम ल्याउनुपर्छ । आज निर्णय गर्ने समय हो, नेपाल अब बिजुली माग्ने देश होइन, बिजुली बेच्ने देश बन्नुपर्छ । अहिले शक्तिशाली सरकार बनेको छ, राजनीतिक इच्छाशक्ति पनि दरो छ । ५ वर्षभित्र ऊर्जामा आत्मनिर्भर नेपाल र सन्तुलित ऊर्जा कूटनीतिका माध्यमबाट १० वर्षभित्र ऊर्जा निर्यातकर्ता राष्ट्र नेपाल, समृद्ध नेपाल हुनेछ ।’

पर्याप्त विद्युत उत्पादन भए उद्योग सञ्चालनमा आउने, रोजगारी सिर्जना हुने र आर्थिक विकासले गति लिनेछ । सांसद न्यौपानेले ऊर्जा क्षेत्रलाई प्रशासनिक झन्झट र राजनीतिक हस्तक्षेपबाट मुक्त गर्नुपर्नेमा जोड दिँदै निजी क्षेत्रलाई खुला प्रतिष्पर्धाको वातावरण दिनुपर्ने बताए ।

उनले एकद्वार प्रणाली लागू गर्न, प्रशारण लाइन निर्माणलाई राष्ट्रिय प्राथमिकतामा राख्न तथा ऊर्जा क्षेत्रको सुरक्षाको ग्यारेन्टी सरकारले लिनुपर्ने समेत बताएका छन् ।

न्यौपानेले अब नेपाल विद्युत् प्राधिकरण को एकाधिकार अन्त्य गरी प्रतिस्पर्धात्मक ऊर्जा बजारतर्फ जानुपर्ने बताए । साथै बैंक, गैरआवासीय नेपाली संघ (एनआरएन) तथा विभिन्न कोषहरूको लगानी ऊर्जा क्षेत्रमा केन्द्रित गर्नुपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + 11 =