‘सनसेट ल’ आए जलविद्युत क्षेत्रमा धेरै समस्या हट्नेछ : गणेश कार्की

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले सरकारले ल्याउन लागेको ‘सनसेट ल’ कार्यान्वयनमा आए जलविद्युत क्षेत्रमा देखिएका धेरै समस्या समाधान हुने बताएका छन् ।

इप्पानको एक कार्यक्रममा अध्यक्ष कार्कीले वन मन्त्रालयमा ४० भन्दा बढी फाइल रोकिएको विषयमा आफूहरूले पटक–पटक पत्राचार गरिरहेको स्मरण गर्दै अहिले चर्चामा रहेको सनसेट ल छिट्टै आउने संकेत देखिएको बताउँदै उक्त सनसेट ल आए जलविद्युत क्षेत्रमा रहेका धेरै समस्या हल हुने बताएका हुन् ।

उनकाअनुसार उक्त कानुनमार्फत ‘वान डोर पोलिसी’ लागू हुनुपर्छ, जसले जलविद्युत आयोजनाका अनुमति तथा प्रशासनिक प्रक्रियालाई सहज बनाउनेछ । अध्यक्ष कार्कीले अब आन्दोलनभन्दा काम गर्ने समय आएको भन्दै सरकारसँग सहकार्य गरेर अगाडि बढ्नुपर्ने बताए ।

उनले सरकारसँग निजी क्षेत्रले धेरै अपेक्षा गरेको उल्लेख गर्दै काम गर्ने वातावरण बन्ने विश्वास व्यक्त गरे । उनले सरकारले भनेका कुराहरू लागू गरिदिए मात्रै पनि काम गर्ने वातावरण धेरै बनेन छ ।

अध्यक्ष कार्कीले भने, ‘हामीलाई लाग्छ सरकारले कुनै न कुनै हिसावकले एउटा काम गर्ने वातावरण बनाउँछ होला जस्तो लाग्छ र सबभन्दा राम्रो कुरा हामी हिजो अस्ति पनि ४० वटा भन्दा बढी फाइल रोकियो भनेर हामीले वन मन्त्रालयमा पत्राचार गरिराखेका थियौँ । तर सनसेट ल एक दुई दिनमै आउने हो कि जस्तो देखिरहेको छ । छ पानाको तयार भइसक्यो भनेर आइरहेको छ र वास्तवमा मलाई लाग्छ त्यो सनसेट ल आइदियो भने हामीले भनेको संकटकाल भनेकै त्यही हो । संकटकाल भन्ने शब्द चाहेको थिएन, त्यसैले गर्दाखेरि त्यसमा थुप्रै कुराहरू वान डोर पोलिसी लागू हुनेछ भनेर भनेको छ । त्यसैले गर्दाखेरि थुप्रै कुराहरू हामीलाई सहज हुन्छ कि भन्ने मलाई लाग्छ । तथापि थुप्रै अब हाम्रा साथीहरू हुनुहुन्छ, अब हामी पनि छौँ । त्यसैले गर्दाखेरि यो सरकारहरूसँग सहयोग गरेर सरकारसँग मिलेर केही काम अगाडि बढाउनुपर्छ भन्ने लाग्छ र मलाई खुसी लाग्छ किनभने अहिले थुप्रै जलविद्युत बुझ्ने साथीहरू पनि माननीय हुनुभएको छ । त्यसले गर्दाखेरि उहाँहरूले पनि हाम्रा कुराहरूलाई उठाइदिने भन्दा पनि उहाँहरूलाई बुझाइदिने काम गर्नुहुन्छ भन्ने मलाई लाग्छ ।’

अध्यक्ष कार्कीले अहिले संसदमा जलविद्युत क्षेत्र बुझ्ने धेरै सांसदहरू पुगेकाले क्षेत्रका मुद्दा उठाउन र समाधानमा सहयोग पुग्ने विश्वास पनि व्यक्त गरे । उनले इप्पानभित्र सबै पक्षलाई समेटेर सिंगो टिम बनाएर अघि बढ्नुपर्ने आवश्यकता औंल्याए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + twelve =