राजनीतिक पूर्वाग्रहभन्दा माथि उठ्न राष्ट्रिय सभा अध्यक्ष दाहालको आग्रह

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले जनहित, सुशासन र समृद्धिका लागि राजनीतिक पूर्वाग्रहभन्दा माथि उठेर जिम्मेवार भूमिका निर्वाह गर्न राष्ट्रिय सभा सदस्यहरूलाई आह्वान गरेका छन् ।

सोमबारदेखि सुरु भएको राष्ट्रिय सभाको अधिवेशनको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको सुदृढीकरणमा राष्ट्रिय सभाले परिपक्व र अभिभावकीय भूमिका खेल्दै आएको बताए ।

उनले विगतका चुनौती र प्रतिकूल परिस्थितिका बाबजुद संसदले विधायिकी प्रक्रिया निरन्तर अघि बढाइरहेको उल्लेख गर्दै नयाँ जनादेश र नयाँ सरकार गठनसँगै संसदीय गतिविधिमा थप गति आएको बताए ।

अध्यक्ष दाहालले चालु अधिवेशनलाई मुख्यतः ‘बजेट अधिवेशन’का रूपमा लिइने बताउँदै सरकारको नीति तथा कार्यक्रम, विनियोजन विधेयक र बजेटमाथि गहन छलफल हुने जानकारी दिए ।

उनले संघीय निजामती सेवा विधेयक, विद्यालय शिक्षा विधेयक र नेपाल प्रहरीसम्बन्धी विधेयकलगायत महत्वपूर्ण कानुनहरूलाई प्राथमिकताका साथ पारित गर्ने जिम्मेवारी संसदको काँधमा रहेको बताए ।

संसदलाई थप प्रविधिमैत्री र समावेशी बनाउने प्रयासस्वरूप यसै अधिवेशनदेखि राष्ट्रिय सभाको बैठकको प्रत्यक्ष प्रसारणमा सांकेतिक भाषाको प्रयोग सुरु गरिएको उनले घोषणा गरे ।

अध्यक्ष दाहालले निर्माणाधीन नयाँ संसद भवन छिट्टै सम्पन्न हुने विश्वास व्यक्त गर्दै आधुनिक प्रविधिसहित नयाँ भवनबाट सभा सञ्चालन भएपछि संसदीय कार्यक्षमता थप प्रभावकारी बन्ने अपेक्षा व्यक्त गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 10 =