स्मार्ट टेलिकमको घोटालामा मेरो संलग्नता पुष्टि भए राजनीतिबाट सन्याश लिन्छु: जगदीश खरेल

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी का सांसद तथा पूर्वसञ्चारमन्त्री जगदीश खरेलले स्मार्ट टेलिकम घोटाला प्रकरणमा आफ्नो नाम जोडेर प्रकाशित भएका समाचारप्रति कडा आपत्ति जनाएका छन् ।
सोमवार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद खरेलले उक्त प्रकरणमा आफ्नो संलग्नता प्रमाणित भए राजनीतिक जीवनबाटै सन्यास लिन तयार रहेको घोषणा गरे ।
उनले आफूलाई जोडेर प्रकाशित गरिएका समाचारहरू “निरर्थक, भ्रामक र घटिया” रहेको दाबी गर्दै आफ्नो व्यक्तिगत प्रतिष्ठा, राजनीतिक जीवन तथा पार्टीको छविमा आघात पु¥याउने उद्देश्यले समाचार सम्प्रेषण गरिएको आरोप लगाए ।
सांसद खरेलले सञ्चारमन्त्रीको जिम्मेवारीमा रहँदा स्मार्ट टेलिकम सँग एकपटक पनि बैठक नगरेको जिकिर गरे । ‘स्मार्ट टेलिकमको ३० अर्ब ठगी प्रकरणमा मलाई जोडेर ‘सुटुक्क स्विजरल्याण्ड भागे’ भनेर समाचार लेखियो । यस्तो समाचार पत्रकारिता भन्न पनि नसुहाउने खालको छ । यसले मेरो मान–सम्मान, राजनीतिक जीवन, संसद र मेरो पार्टीको समेत अपमान गरेको छ’ उनले भने ।
उनले थपे ‘यदि स्मार्ट टेलिकम प्रकरणमा मैले एउटा मिटिङ मात्रै गरेको वा एउटा फाइल तलमाथि गरेको प्रमाणित भयो भने पनि म सधैँका लागि राजनीतिक जीवनबाट विदा लिन तयार छु ।’
सांसद खरेलले उक्त समाचार आफ्नो प्रतिष्ठामा आँच पु¥याउने गलत मनसायका साथ प्रकाशित गरिएको आरोप समेत लगाए ।








