सुकुम्वासी परिवारका विद्यार्थीलाई संस्कृत शिक्षाका लागि भर्ना हुन आग्रह

महोत्तरी । महोत्तरीको मटिहानी–७ स्थित राजकीय संस्कृत माध्यमिक विद्यालयले सुकुम्वासी परिवारका विद्यार्थीलाई अपिल गरेको छ ।
जारी शैक्षिक सत्र २०८३ का लागि कक्षा–८ र ९ मा भर्ना हुन विद्यालयले अपिल गरेको हो ।
‘हामीले जारी २०८३ को शैक्षिक सत्रमा सुकुम्वासी परिवारका ३० छात्रलाई पठनपाठनका आधारभूत शैक्षिक सामग्री, आवास र भोजनसहितको निःशुल्क प्रबन्ध गर्दैछौँ’, विद्यालयका प्रधानाध्यापक ईश्वरीप्रसाद पौडेल भने, ‘यस अभियानमा भर्ना हुने विद्यार्थीले कक्षा १२ सम्म सुविधा पाउने छन् ।’ भर्ना आगामी जेठ १५ सम्म भइसक्नुपर्ने विद्यालयले जनाएको छ ।
उनले ७७ जिल्लाका विद्यार्थी सरिक हुनसक्ने स्पष्ट पारे । ‘यसका लागि विद्यार्थीको नाम, ठेगाना र जन्ममिति स्पष्ट खुल्नेगरी सम्बद्ध स्थानीयतहको वडा कार्यालयले सुकुम्वासी भएको प्रमाणित गरेको सिफारिस भए पुग्छ ।’ प्रअ पौडेलले भने ।
अहिले शैक्षिक सामग्री, आवास र भोजनसहितको निःशुल्क अवसर भने सुकुम्वासी परिवारका विद्यार्थीलाई लक्षित गरी ३० जनालाई दिन लागिएको हो ।
विगतमा ब्राह्मण जाति समुदायका लागि मात्र संस्कृत शिक्षा दिँदै आए पनि पछिल्ला दुई दशकयता भने विद्यालयले ‘सबैका लागि संस्कृत शिक्षा’को अवधारणाअनुसार सबैलाई पढ्ने अवसर खोलेको छ ।
आवास र भोजनसहितको यो अवसर अहिले छात्रका लागि मात्र भएको गुरुकुलले स्पष्ट पारेको छ ।
वि.सं १७७५ मा स्थापित यो विद्यालय सीमाक्षेत्र (दशगजा) बाट १०० मिटरमात्र भित्र छ । सीमा नजिक हुँदा यहाँ भारतीय छात्रछात्रा पनि संस्कृत अध्ययनका लागि आउने गरेका छन् ।
कक्षा आठदेखि १२ सम्म अध्ययन/अध्यापन हुने गुरुकुलमा अहिले मुलुकका २७ जिल्लाका विद्यार्थी अध्ययनरत रहेका प्रधानाध्यापक पौडेलले जानकारी दिए ।
विद्यालयमा संस्कृततर्फ साहित्य, व्याकरण, न्याय, कर्मकाण्ड र ज्योतिषमध्ये दुई ऐच्छिक र भाषा अनिवार्य छ । यस्तै संस्कृतका अतिरिक्त साधारण विद्यालयका अनिवार्य विषय यहाँ पनि पढाइन्छन् । टाढाका गरिब विद्यार्थीका लागि गुठी संस्थानले भोजन व्यवस्थापन गर्दै आएको छ ।
बालगुरु षडाननले शिक्षा लिएको यो गुरुकुललाई अहिले संस्कृत भाषा, साहित्यको अनुसन्धान केन्द्रका रूपमा विकास गरिन पर्ने माग बढेको छ ।
मटिहानी नगरपालिकाले गुरुकुललाई संस्कृत भाषा, साहित्यको अनुसन्धान केन्द्रका रूपमा विकास गरिन सरकारको ध्यानाकर्षण गराइँदै आइएको नगरप्रमुख हरिप्रसाद मण्डलको भनाइ छ ।








