सार्वजनिक यातायातलाई मर्यादित र उच्चपदस्थले चढ्ने योग्य बनाउनुपर्छः सभापति गजुरेल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद तथा पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले सार्वजनिक यातायातलाई उच्चपदस्थ अधिकारीहरूले समेत प्रयोग गर्नसक्ने गरी मर्यादित, सुरक्षित र भरपर्दो बनाउनुपर्ने बताएका छन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै सांसद गजुरेलले सार्वजनिक यातायातको सुधारलाई समृद्धिको आधारका रूपमा लिनुपर्ने बताए । उनले हालको सडक पूर्वाधार र लगानी निजी सवारी केन्द्रित भएको भन्दै अबका सडक तथा यातायात प्रणाली मानवमैत्री र सार्वजनिक यातायातमुखी हुनुपर्नेमा जोड दिए ।

गजुरेलले सार्वजनिक यातायातको स्तर अझै अपेक्षाअनुसार सुधार हुन नसकेको उल्लेख गर्दै आफूले सार्वजनिक बसमा यात्रा गर्दा सर्वसाधारणले सांसदले बस चढेकोमा नै आश्चर्य मानेको अनुभव सुनाए ।

उनले भने, ‘मैले सार्वजनिक बसमा यात्रा गर्दा सर्वसाधारणले एक सांसदले यसरी यात्रा गर्छन् भन्ने विश्वास नै गर्न सकेनन् । यसले हाम्रो सार्वजनिक यातायात अझै पनि सबैको रोजाइ बन्न नसकेको देखाउँछ । सार्वजनिक यातायातलाई यस्तो बनाऔँ कि हामी सबैले निजी सवारी छोडेर बस चढेर कार्यालय जान सकौँ ।’

सांसद गजुरेलले यातायात क्षेत्रमा देखिएका विकृति तथा सिन्डिकेट अन्त्यका लागि सरकारले निगरानी बढाउने चेतावनी पनि दिए । उनले सवारी दुर्घटना न्यूनीकरणका लागि सवारी साधन दुरुस्त अवस्थामा राख्न र सडक सुरक्षाका मापदण्ड कडाइका साथ पालना गर्न व्यवसायीहरूलाई आग्रह गरे ।

उनले यातायात क्षेत्रमा करिब १३ खर्ब रुपैयाँ लगानी रहेको र ११ लाखभन्दा बढीले प्रत्यक्ष रोजगारी पाइरहेको उल्लेख गर्दै यस क्षेत्रका समस्या समाधानमा सरकार गम्भीर रहेको बताए ।

संघीय र प्रदेश सरकारबीच देखिएका कार्यक्षेत्र सम्बन्धी विवाद समाधानका लागि ‘सार्वजनिक यातायात प्राधिकरण’ मार्फत कानूनी सुधार प्रक्रिया अघि बढाइएको जानकारी पनि उनले दिए ।

सांसद गजुरेलले यातायात क्षेत्रलाई आधुनिक र प्रविधिमैत्री बनाउन सीसीटीभी जडान, जीपीएस प्रणाली कार्यान्वयन तथा डिजिटल भुक्तानी प्रणालीलाई प्राथमिकता दिनुपर्ने धारणा राखे ।

यस्तै, यातायात क्षेत्रमा कार्यरत श्रमिकलाई सामाजिक सुरक्षा कोषमा अनिवार्य आबद्ध गराउने विषयमा छलफल भइरहेको र दुर्घटनाग्रस्त क्षेत्रमा उद्धार कार्य प्रभावकारी बनाउन सञ्चार सञ्जाल विस्तारका लागि सञ्चार मन्त्रालयसँग समन्वय भइरहेको उनले बताए ।

सडक सुरक्षा, सार्वजनिक यातायात सुधार र गुणस्तरीय पूर्वाधार निर्माणलाई आफूले प्राथमिक एजेण्डा बनाएको उल्लेख गर्दै गजुरेलले यी योजना सफल बनाउन सबै सरोकारवालाको सहकार्य आवश्यक रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 4 =